Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


खाडी मुलुकमा घरेलु कामका लागि अवैधरुपमा जाने महिलाको संख्या बढ्दो


0
Shares

गृष्मा राजभण्डारी (इमेज)

काठमाडौं, फागुन १४ । नेपाली महिलाहरु अवैधरुपमा घरेलु कामका लागि खाडी मुलुक जानेक्रम बढेको छ ।

सरकारले नेपाली महिलालाई घरेलु कामदारका लागि खाडी मुलुक जान प्रतिबन्ध लगाएपनि विभिन्न माध्यमबाट उनीहरु त्यहाँ पुग्ने गरेका छन् । कतिपय महिला बिचल्लीमासमेत परेका छन् ।

गत महिना अवैधरुपमा खाडी मुलुक हिँडेका १६९ जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि माइती नेपालको सहयोगमा उद्धार गरेर काठमाडौं ल्याइयो । उनीहरुको पीडा भने बेग्लै छ ।

गत महिना झापा हुँदै दिल्ली पुगेकी एक महिलालाई दिल्ली प्रहरीले अध्यागमनमा रोक लगाएपछि स्थलमार्ग हुँदै मणिपुरको इम्फाल पुगेका बेला पक्राउ गरेपछि माइती नेपालको रोहवरमा उद्धार गरी काठमाडौं ल्याइएको थियो ।

यीमात्र होइनन्, माइती नेपालले ल्याएका १६९ मध्ये अधिकांश महिलालाई खाडी मुलुकमा घरेलु कामदारकारुपमा काम जानेक्रममा रहेका बेला उद्धार गरिएको हो ।

मुलुकभित्रै रोजगारी नपाएपछि आफूहरु बाध्य भएर कामको खोजीमा खाडी जान लागेको उनीहरुको भनाइ छ ।

खाडी मुलुकमा घरेलु कामदारकारुपमा नेपाली महिलालाई जान प्रतिबन्ध छ । तर, अवैध तरवले अझै ठूलो संख्यामा नेपाली महिलाहरु खाडी मुलुकमा पुगेर घरेलु कामदारकारुपमा कार्यरत् छन् ।

सरकारले राहदानी दिने र तर घरेलु कामदारकारुपमा जान नदिने नीति लिएकोमा उद्धार गरिएका महिलाहरु असन्तुष्टि जनाउँछन् ।

आफूहरु बेचविखनमा नपरेको र स्वतःस्फूर्तरुपमा काम गर्न जान लागेकाले परिवारको जिम्मा लगाएपनि पुनः सोही प्रक्रियाबाट जाने बल गरिरहेका छन् ।

भारतीय प्रहरीले पक्राउ गरेपछि उद्धार गरेर ल्याइएका महिलाको समूह ठूलो छ ।

बेला–बेलामा माइती नेपालले सीमित संख्यामा यस्ता महिलालाई उद्धार गरी ल्याउने गरेको छ । तर, अझै कयौं नेपाली महिला अवैध बाटो हुँदै खाडी मुलुकमा पुगिरहेका छन् । यो समस्याकैरुपमा देखापरेको छ ।

माइती नेपालका अध्यक्ष विश्वराम खड्काले महिलाको रोजगारीकाबारेमा सरकारले स्पस्ट व्यवस्था नगरेसम्म योक्रम रोक्न नसकिने अवस्थामा पुगेको बताए ।

नेपालबाट वैधरुपमा दैनिक करिब एक हजार ६०० युवा वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक छ । यीबाहेक अवैध बाटो हुँदै रोजगारीको खोजीमा जानेको संख्यापनि निकै ठूलो छ ।

विशेषगरी नेपाली महिलालाई वैदेशिक रोजगारीमा खाडी मुलुकमा जान सरकारले कडाइ गरेपछि अवैध बाटो हुँदै जानेहरुको संख्या बढेको हो ।