यस गाविसलाई सोलु दूधकुन्ड नगरपालिकामा समावेश गर्नुपर्नेमा मागविपरीत नेचासल्यान गाउँपालिकामा समावेश गरेको भन्दै तिङ्लावासीले गएको शुक्रबारदेखि सडक बन्द गरेका हुन् ।
दर्जनौं स्थानमा रुख ढाल्नुका साथै ढुंगा थुपारेर सडक अवरुद्ध गरेका स्थानीयवासीले सडकमै धर्ना दिइरहेका छन् ।
साविकको तिङ्ला गाविसभित्र पर्ने सडकखन्डमा अवरोध पुर्याएपछि जिल्लाबाट राजधानी, तराईका जिल्ला जाने तथा जिल्लामा आउने यात्री साविकको केरुङ गाविसको पत्तालेदेखि चार घन्टाभन्दा बढीको उकालो–ओरालो हिँडी दूधकुन्ड नगरपालिकाको साल्मेसम्म पुग्नुपरेको छ ।
सडक बन्दसँगै स्थानीयवासीले व्यापारका लागि सदरमुकाम ल्याउने कुनैपनि वस्तु बोकेर ल्याउनसमेत दिएका छैनन् ।
सडक यातायात हुँदै सगरमाथा क्षेत्र हिँडेका पर्यटक पनि हिँडेरै आवतजावत गर्न बाध्य भएका छन् ।
पाँच दिनदेखि सडक बन्द हुनाका साथै बोकेरसमेत सामान ल्याउन नपाउँदा सदरमुकाममा उपभोग्य वस्तुको अभाव सुरु भएको भन्दै उद्योग वाणिज्य संघ, सोलुखुम्बु शाखाले सडक बन्दको विकल्प खोज्न अनुरोध गरेको छ ।
बन्द खुलाउन गत शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल बिनानिष्कर्ष टुंगिएको थियो । त्यसपछि अहिलेसम्म वार्ता पनि भएको छैन ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे उनीहरुको माग जिल्ला तहबाट पूरा नहुने र केन्द्रमा जानकारी पठाइसक्दा पनि बन्दकर्ताले बन्द फिर्ता नलिएको बताउँछन् ।
केही समय पर्ख र हेरको अवस्थामा रहेको र बन्द लम्बिएमा बल प्रयोग गरी सडक खुलाउने प्रजिअ पाण्डेले बताए ।
आन्दोलनकारी भने आफूहरुको माग पूरा नहुन्जेलसम्म कुनैपनि हालतमा बन्द फिर्ता नहुने बताउँछन् ।
संघर्ष समितिका संयोजक बालकुमार कार्की भन्छन्–‘हामी माग पूरा नभइ सडक छाड्दैनौं, आश्वासनलेमात्र हुँदैन व्यवहारमा चाहिन्छ ।’
तर, सीमांकन परिवर्तनको कुरा तत्काल असम्भव रहेको सम्बद्ध व्यक्तिको भनाइ छ । रासस










प्रतिक्रिया दिनुहोस्