Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


केन्द्रमा ‘बढीमा १६ मन्त्रालय’ हुने


0
Shares

सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक संगठनात्मक, संरचना र संस्थागत व्यवस्थापन समितिलाई सहयोग गर्न गठित उपसमितिले केन्द्रमा बढीमा १२ देखि १६ को संख्यामा मन्त्रालयमा बनाउने मस्यौदा प्रतिवेदन तयार पारेको समितिका सदस्य नन्दराज ज्ञवालीले जानकारी गराए ।

‘प्रारम्भिक छलफलमा हामीले बढीमा १६ मन्त्रालय बनाउन समितिलाई सिफारिस गर्ने तयारीमा रहेका छौं’–उनले भने–‘एकरुपता र समकालीन काम भएका मन्त्रालयलाई एउटै बनाउन थालिएको छ ।’

मन्त्रालयका सहायक प्रवक्तासमेत रहेका ज्ञवालीले मन्त्रालयको संख्या कति रहने टुंगो लागेपछिमात्र यसको नामकरण गर्ने जानकारी गराए ।

संघीय संरचनामा केन्द्रीय सरकारको ७७४ काम हुने व्यवस्था गरिएको छ ।

सरकारले फागुन १९ गते मन्त्रालयका सचिव सापकोटाको संयोजकत्वमा मन्त्रालय केन्द्र, प्रदेश र स्थानीय तहमा कति संख्यामा रहनेछन् भनेर प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो ।

मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले समितिले केन्द्रमा रहने मन्त्रालयको संख्या एकिन गरेपछि प्रदेशमा रहने मन्त्रालयको संख्या निर्धारण गर्ने जानकारी गराए ।

उपसमितिले तयार पारेको मस्यौदालाई अध्ययन गरेर समितिले सरकारलाई प्रतिवेदन बुझाउने उनले जानकारी गराए ।

अहिले ३१ ओटा मन्त्रालय रहेका छन् । रासस