
कञ्चनपुर । ठेकेदार कम्पनीको लापरवाहीका कारण कञ्चनपुरको कलुवापुर–बेलौरी सडकखण्ड सम्झौता सकिएको ८ महिना बितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन ।
निर्माणको जिम्मा पाएको सन्तोषी–थेगिम जे.भी कैलालीले समयमै काम नगर्दा कालोपत्रेको काम अलपत्र परेको हो ।
दुई प्याकेजमा गरी २५ किलोमिटर सडक कालोपत्रे गर्न सन्तोषी–थेगिम जेभी कैलालीसँग १९ करोड ११ लाख ७४ हजार ५ सय रुपैयाँमा २०७३ भदौ १७ मा ठेक्का सम्झौता भएको थियो ।
कालोपत्रेको काम २०७५ असार १५ मा सक्नुपर्ने भए पनि हालसम्म बेस हाल्ने कामसमेत पुरा हुन नसकेको हो । समयसीमा पुरा हुँदासमेत सडक कालोपत्रे नभएपछि स्थानीयले विरोध गरेका छन् ।
यसअघि, ठेकेदारको लापरवाहीका कारण आफूहरुले सास्ती पाएको भन्दै आवागमन बन्द गरेका स्थानीयले तत्काल काम सुरु नगरे पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
यता, काममा ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्माण कम्पनीले गत आर्थिक वर्षमा गरेको कामको रकम समेत रोक्का गरेको छ ।
ठेकेदारको लापरवाहीकै कारण समयमै कालोपत्रेको काम नसकिएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख लक्ष्मीदत्त भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस्