
गत मंगलबार २५ वर्षीया श्रीलथा कंचनपल्लीले जन्गाउँ जिल्ला अस्पताल तेलंगनामा तीन खुट्टा भएकी बालिकालाई जन्म दिएकी थिइन् ।
उनी गत बिहीबार तेलंगनाबाट ८७ किलोमिटर टाढा हैदरावादको निल्योफेर अस्पतालमा ६ दिने ती बालिकाको बीचको एउटा खुट्टा शल्यक्रियामार्फत् हटाउन आएकी थिइन् ।
जन्मिएको ६ दिनपछि नै शल्यक्रिया सफल भएपछि आमा कंचनपल्लीले ‘भगवानले आफ्नो छोरी बचाउन डाक्टर पठाएको’ भन्दै उपचारमा संलग्न सबै डाक्टरलाई धन्यवाद दिएकी छन् ।
कंचनपल्लीले गत डिसेम्बरमै नियमित परीक्षणकोक्रममा सीटी स्क्यान गर्दा आफ्नो गर्भाशयमा असामान्य विकृतिबारे थाहा पाएकी थिइन् । डाक्टरहरुले उनको पेटमा जुम्ल्याहा बच्चा रहेको बताएका थिए ।
गत मंगलबार उनले छोरीलाई जन्म दिएपछि डाक्टरहरुले जुम्ल्याहा बच्चाको भ्रूण विकृत हुँदा एउटै बच्चामा थप एक खुट्टा विकसित भएको बताएका छन् ।
डा. के श्रीनिवासले यस्तो गर्भाधान जटिल भएको बताए । उनले हाल बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेकोसमेत बताए ।
निल्योफेर अस्पतालका शल्यक्रिया विभाग प्रमुख डा.रमेश रेड्डीले गर्भावस्थामा यस्तो समस्या थोरैमा देखिने बताए । उनले भने–‘एक लाख जन्ममा एक शिशुमा यस्तो समस्या देखिने गर्दछ ।’
डा. के श्रीनिवासकाअनुसार गर्भाशयमा जुम्ल्याहा परजीवी एक–आपसमा जोडीनेक्रममा अन्य शरीरको अंगसँग जोडिने गर्दछ । यस्तो अवस्थामा केवल बाहिरी अंगको संरचनामात्रै जोडिने गर्दछ र यस्तो विकृति देखापर्दछ ।
उनले भने–‘तीन घन्टाको निरन्तर प्रयासपछि शल्यक्रिया सफल भयो ।’
कंचनपल्लीको श्रीमान् साम्बैहले सबै डाक्टरहरुलाई धन्यवाद दिँदै खुसी लागेको बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्