
काठमाडौं, फागुन १३ । आन्तरिक राजस्व विभागका अधिकारीहरुले सेयरबजारमा लगानीकर्तालाई विश्वासमा लिएरमात्रै स्थायी लेखा नम्बर (प्यान) लागू गर्ने आश्वासन दिएका छन् ।
नेपाल धितोपत्र बोर्डले सोमबार काठमाडौंमा गरेको प्यानसम्बन्धी अन्तरक्रियामा सहभागी लगानीकर्ताहरुले यस व्यवस्थाप्रति चर्को आक्रोश पोखेसँगै विभागका अधिकारीहरुले उक्त आश्वासन दिएका हुन् ।
यसको व्यवस्थाले बजार थप ओरालो लाग्ने भन्दै लगानीकर्ताहरुले यो मुद्दालाई नै अहिले थाती राख्न माग गरेका थिए ।
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पनि सेयरबजारमा प्यान लागू गर्ने विषय प्राविधिक विषयसमेत भएकाले यसका व्यावहारिक पक्ष र बजारको अवस्थालाईसमेत ध्यान दिइ सम्पूर्ण पक्ष अघि बढ्नुपर्ने बताएका थिए ।
लगानीकर्ताहरुको तर्फबाट प्राप्त सुझाव सरोकारवाला निकायहरुसमक्ष राखी आवश्यक सहजीकरणका लागि बोर्ड तयार रहेको पनि डा. कार्कीले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्