
काठमाडौं, फागुन १३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले निर्यात प्रवर्द्धन गरी मुलुकमा उद्योगिकीकरणको प्रक्रिया अघि बढाइ आर्थिक विकासको गतिलाई तीव्रता दिनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विशेष आर्थिक क्षेत्रसम्बन्धी विधेयकमाथि छलफलकाक्रममा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
औद्योगिक विकासलाई केन्द्रमा राखेर आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनतर्फ विधेयक लक्षित रहेको पनि उनले दाबी गरे ।
विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गरी सन्चालन गर्न तथा अन्य स्थानमा सन्चालनमा रहेका उद्योगलाई सो स्थानमा स्थानान्तरण गरी सन्चालन गर्नसकिने उनले बताए ।
उनले विदेशी लगानीलाई आकर्षित गर्ने र निर्यात बढाउने विषयमा नै सरकारले काम गरिरहेको पनि उल्लेख गरे ।
बैठकमा समिति सदस्यहरुले विधेयकलाई समयसापेक्ष बनाउन केही विषयलाई संशोधन गर्नुपर्ने धारणा राखेका थिए ।
विधेयकमा विशेष आर्थिक क्षेत्रभित्र सन्चालन भएको उद्योगले नेपालबाहिर निर्यात गरेको वस्तु वा सेवा तथा विशेष आर्थिक क्षेत्रमा सन्चालन भएको उद्योगलाई बिक्री गरिने कच्चापदार्थ तथा उत्पादित सामानलाई शून्यदरमा मूल्य अभिवृद्धि कर लागू हुने उल्लेख छ ।
त्यस्तै, विधेयकमा विशेष आर्थिक क्षेत्रबाहिर रहेको कुनै उद्योगले उत्पादन गरेको तयारी मालवस्तु आर्थिक क्षेत्रभित्र रहेको उद्योगलाई बिक्री गरेमा त्यसलाई निर्यातसरह मानेर भन्सार महसुल र अन्य सुविधाका व्यवस्था पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्