३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको आशंका, स्वास्थ्य सचिव र विभागका महानिर्देशकलाई लेखा समितिको बोलावट


0
Shares

काठमाडौं, असार ५ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई बोलाएको छ ।

समितिले आउँदो सोमबार मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई छलफलका लागि बोलाएको हो । समिति सभापति भरतकुमार शाहले स्वास्थ्य सचिव र विभागका महानिर्देशकसँगको छलफलपछि अध्ययनका लागि उपसमिति बन्न पनि सक्ने जनाएका छन् ।

स्वास्थ्य सामग्री खरिदसम्बन्धी कागजात संकलन गरेर समितिले अध्ययनका लागि समिति सदस्यलाई उपलब्ध गराएको छ ।

शुरुमा सरकारले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी इन्टरनेशनल कम्पनीसँग सम्झौता गरे पनि पहिलो खेप सामान ल्याउने बित्तिकै उसँगको सम्झौता रद्द गर्दै सेनालाई खरिदको जिम्मा दिएको थियो । तर पछि सेना पनि विवादमा तानिएपछि उसले पनि अब सामान नल्याउने जनाएको छ ।

बजार मूल्यभन्दा महँगोमा सामान खरिद गरेको र प्रक्रिया मिचेको भन्दै सरकारको आलोचना भइरहेका बेला समितिको अध्ययनमा पनि धेरै त्रुटि फेला परेको शाहले जनाएका छन् ।

लेखा समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको हिसाब पनि मागेको शाहले जनाएका छन् ।