
काठमाडौं, फागुन १३ । अखिल नेपाल फुटबल संघ (एन्फा)का मानार्थ अध्यक्ष टासी घलेले एन्फाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घलेले एन्फाको मानार्थ अध्यक्षबाट ‘पदच्युत’ गर्ने कार्यसमितिको निर्णयले आफूलाई अपमान गरेको बताए ।
कर्माछिरिङ शेर्पालाई एन्फाको अध्यक्ष बनाउन निर्णायक भूमिका निभाएको दाबी गर्दै घलेले यही शैलीबाट एन्फा अघि बढे निकट भविष्यमै संकट आउने चेतावनीसमेत दिए ।
उनले आफ्नो मानार्थ पद खोस्ने एन्फाको निर्णय विधानसम्मत् नभएको जिकिर गरे ।
एन्फाको निर्णय बदरको माग गर्दै घलेले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतले निवेदनको अन्तिम टुंगो नलागेसम्म उनको मानार्थ पद खोस्ने निर्णय तत्काल कार्यान्वयन नगराउन एन्फाका नाममा अन्तरिम आदेश जारी गरेपछि घलेले पत्रकार सम्मेलनमार्फत् आफ्नो असन्तुष्टि पोखेका हुन् ।
एन्फाका पूर्वउपाध्यक्षसमेत रहेका घलेले समय छँदै सच्चिन वर्तमान कार्यसमितिलाई सुझावसमेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्