दलिय चुनाव चिह्नको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी लगायत अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुसँग पक्राउ परेका संयोजक डा.भट्टराईले भने ‘आन्दोलन रोकिदैन ।’
‘जबसम्म यो सरकारले चुनाव चिन्ह दिंदैन, चुनावको वातावरण बनाउँदैन् तबसम्म संयुक्त आन्दोलन जारी रहन्छ,’ उनले प्रहरीको ट्रकभित्रैबाट भने ।
प्रहरीले भट्टराई संगै हिसिला यमी, बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पक्राउ गरेको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार दलिय चिह्नको माग गर्दै निर्वाचन आयोग परिसर घेराउ गर्न पुगेका कार्यकर्ताले निशेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
सयौंको संख्यामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको लाठी लागी केही प्रदर्शनकारीहरु घाइते समेत भएका छन ।
आइतबार विहान आयोग अगाडी भएको प्रदर्शनीमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको हो ।
नयाँ शक्ति पार्टी लगायत अन्य राजनैतिक दलले संयुक्त रुपमा दलिय चुनाव चिन्ह् पाउनु पर्ने माग गर्दै आज संयुक्त रुपमा निर्वाचन आयोग र जिल्ला स्थित निर्वाचन कार्यालयहरुमा बिरोध स्वरुप धर्ना दिएका हुन् ।
पक्राउ लगत्तै उनले आफ्नो फेसबुकमार्फत गिरफ्तारको शिलशिला लेखेका छन् ।
उनले लेखेका छन् ‘जीवनको पाँचौं राजनीतिक गिरफ्तारी पछि नेपाल प्रहरी २ नं गण महाराजगंजमा । पहिलो २०३६ सालमा भारत सरकारद्वारा दिल्लीमा । दोश्रो र तेश्रो राजा वीरेन्द्रको पंचायती सरकारद्वारा २०४२ र २०४३ सालमा । चौथो बहुदलीय व्यवस्थामा गिरिजा सरकारद्वारा २०५० सालमा । पाँचौं गणतान्त्रिक प्रचण्ड सरकारद्वारा अहिले ।





प्रतिक्रिया दिनुहोस्