बजारमै रहेको जेबी आयल स्टोरबाट सुरु भएको आगोलागीले पेट्रोलपम्पसहित तीनओटा पसल जलेर पूर्णरुपमा नस्ट भएका छन् । तीनओटा अरु घरहरुमा आंशिक क्षति भएको छ ।
यसबाहेक एउटा ट्यांकर र ६ ओटा मोटरसाइकल पनि जलेर नस्ट भएका छन् ।
जेबी आयल स्टोरका सन्चालक कर्णबहादुर भण्डारी जलेर घाइते भएका छन् ।
आइतबार दिउँसो एक बजेर २८ मिनेटमा ट्यांकरबाट ड्रममा तेल झार्दै गर्दा अकस्मात् ड्रमभित्रबाट आगो लागेको थियोे । त्यसपछि फैलिएको आगोले पेट्रोलपम्प समातेपछि भीषणरुप लिएको थियो । जसका कारण स्थानीयबासी तथा बटुवाहरुको भागाभाग भएको थियो ।
नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीको प्रयासमा आगो एक घन्टाभित्रै नियन्त्रणमा लिइएको थियो । दिपायल सिलगढी नगरपालिकासँग रहेको दमकल बिग्रेका कारण भने आगोग नियन्त्रणमा केही समस्या आएको थियो ।
त्यसपछि डडेल्धुरामा रहेको अमरगढी नगरपालिकाको दमकल मगाइएको थियो । तर, त्यसअघि नै क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा रहेको पानीट्यांकरको सहायताले आगो नियन्त्रण गरिएको थियो ।
आगोलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएपनि क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन ।















प्रतिक्रिया दिनुहोस्