२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


विस्तारित अस्पताल सेवा प्रभावकारी


0
Shares

फाइल फोटो

गत बुधबारदेखि सुरु भएको उक्त सेवामा तीन दिनभित्र करिब ५० भन्दा बढी बालबालिकाको उपचार भएको अस्पतालका निर्देशक डा.अजित रायमाझीले जानकारी दिए ।

देशभरको एक मात्र केन्द्रीय बाल अस्पतालका रुपमा रहेको कान्तिमा देशभरबाट उपचारका लागि दैनिक बहिरंग सेवामा ३०० जना बालबालिका आउने गर्छन् ।
बिरामीको अत्याधिक भीडका कारण निजी क्लिनिकमा महंगो शुल्कमा उपचार गराउनुपर्ने भएपछि अस्पतालमै रु ४५० शुल्क लाग्ने गरी सेवा विस्तार गरिएको हो ।

निर्देशक रायमाझीले प्रयोगशाला परीक्षणका लागि ल्याब तथा शल्यक्रिया शुल्क अरु बेलाको भन्दा बढी भएपनि बाहिरका निजी अस्पतालभन्दा सस्तो हुने बताए । यो सेवा सुरु भएपछि टाढाबाट बिरामी बच्चा लिएर आएका अभिभावक पालो नपाएर अन्यत्र भौतारिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

बिरामीले वरिष्ठ विशेषज्ञ सेवा पाउंछन् । निजीमा जस्तै अतिरिक्त समयको पारिश्रमिक पाएपछि चिकित्सकहरुलाई पनि सजिलो भएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.कृष्ण पौडेलले बताए ।

अहिले परीक्षणकै क्रममा रहेकाले सेवालाई थप प्रभावकारी र सरल बनाउँदै लैजाने अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विस्तारित सेवा सुरु गरेका सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कामका आधारमा ५० प्रतिशतसम्म भत्ता दिने व्यवस्थासमेत गरेको छ । -रासस