
घटनामा संलग्न ६ जनालाई पक्राउ गरी आज महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । तीनजना अझै फरार रहेका महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
महानगरीय प्रहरीवृत्त लैनचौरमा कार्यरत प्रहरी जवान अजय गुरुङ पक्राउ परेका छन् भने सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार बलबहादुर मगर र प्रहरी जवान नवीन ढकाल फरार रहेका छन् ।
मरुहिटीमा प्रेमरत्न शाक्यको पाँचतले घरको पहिलो तलामा भारत घरभएका शिव माइटीले सञ्चालन गरेको सुनका गरगहना बनाउने कारखानाबाट शुक्रबार आठजनाको संख्यामा आएका लुटेरा समूहले आफूहरु प्रहरी भएको र पसलमा अवैध सुनको कारोबार भइरहेको सूचना आएको भन्दै धम्की दिई लुटपाट गरेका थिए ।
कारखानामा कार्यरत ६ जना कामदारलाई नियन्त्रणमा लिई कारखानामा गहना बनाउन ल्याइएको ६४ तोला सुनका विभिन्न गरगहना, नगद रु १३ हजार र मोबाइल चार थानसमेत लुटपाट गरेका थिए ।
महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट शनिबार (हिजो) पक्राउ गरी डैकति मुद्दामा आवश्यक कानुनी कारबाहीका लागि आइतबार (आज) महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
प्रहरीले काभ्रे घर भई ठमेलमा बस्दै आएका सुवास खरेल, धादिङ घर भई बालाजुमा बस्दै आएका सवारी चालक राजकुमार तामाङ, काभ्रे घर भई राजधानीमा डान्सबारमा काम गर्ने देव तामाङ भन्ने सुन्दर तामाङ, डान्सबारमा बाउन्सरको काम गर्ने ललितपुर बालकुमारी बस्ने पाल्देन भन्ने क्षितिज तामाङ र लाप्साङ लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न धादिङ छत्रेदेउराली घर भई सीतापाइला बस्ने हर्कबहादुर तामाङ भने फरार रहेका छन् ।
लुटपाट गर्दा ६ जनासँगै गएका थिए भने अन्य दुई जना तल ढोकामा मान्छे हेर्न बसेको प्रहरीले जनाएको छ ।
सुन लुटपाट गर्ने स्थानमा लुटपाट गर्न जाने सबैले लुटपाट गरेको सामान आ–आफ्नो गोजीमा राखेका थिए । घटनापश्चात् सामान लिएर सबै जना सोह्रखुट्टेस्थित बन्दै गरेको भवनमा गई आफूले लगेको सामान निकाली रुमालमा पोको पारी देव भन्ने सुन्दर तामाङलाई राख्न दिएका थिए ।
शनिबार (हिजो) दिउँसो सामान बिक्री गर्न भनी योजना बनाउँदै गरेका अवस्थामा सोह्रखुट्टेस्थित एक चिया पसलबाट प्रहरीले पक्राउ गरेको महाशाखाका प्रमुख अमात्यले बताए । रासस
प्रतिक्रिया दिनुहोस्