सशस्त्र प्रहरी नायब महानिरीक्षक र भारतका समकक्षी उच्च प्रहरी अधिकृतबीच हरेक चार महिनामा गरिँदै आएको बैठकअन्तर्गत् सोमबार भएको बैठकले नेपालमा निकट समयमा नै हुन लागेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने विषयमा सचेतनापूर्वक काम गर्ने पनि सहमति बनेको सशस्त्र प्रहरी बल बराहबाहिनी मुख्यालय पकलीका प्रमुख जानकीराज भट्टराईले पत्रकार सम्मेलनमा बताए ।
बैठकले दुबै देशको सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिसँगै अवैध हातहतियार ओसारपसार लागुऔषधको कारोबार तथा राजनीतिकवृत्तमा गरिने गलत क्रियाकलापलाईसमेत दुबै देशको सुरक्षा निकायबीच नियमित संवाद एवं सम्पर्क स्थापित गरेर त्यस्ता अवाञ्छितकार्य रोक्न भरभग्दुर प्रयास गर्ने पनि सहमति भएको उनले बताए ।
बैठकमा कुनैपनि आपराधिक गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई दुबै देशका सीमा क्षेत्रमा तैनाथ सीमा सुरक्षा बलको सहकार्यमा नियन्त्रण गरिने र त्यसका लागि दुबै देशका सुरक्षा अधिकारीबीच निरन्तर सन्चारसम्पर्क कायम राख्ने विषयमा पनि सहमति बनेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा सिलिगुडीका सीमा सुरक्षा बलका प्रहरी नायब महानिरीक्षक बन्धन सक्सेनाले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई मिलेर नियन्त्रण गर्ने तथा सीमास्तम्भलाई चुस्त–दुरुस्त राखी जीर्ण भएका सीमास्तम्भको मर्मतमासमेत विशेष ध्यान दिने सहमति भएको बताए ।
सोही अवसरमा सिक्किमका एसएसबी प्रहरी नायव महानिरीक्षक विश्वजितकुमार पालले नेपाल र भारतबीचको सदियौंदेखिको दौत्य र पारस्परिक सम्बन्धमा खलल पुर्याउने कुनैपनि गतिविधि दुबै देशका सुरक्षा निकायका लागि सह्य नहुने बताए ।
साथै, बैठकले सीमा क्षेत्रमा हुने गरेको मानवतस्करी तथा गैरकानुनी मानव ओसारपसारजस्ता गतिविधिलाई मिलेर रोक्ने तथा नेपालका तर्फबाट जुनकुनै विषयमा सघाउका लागि आग्रह गरिएमा जस्तोसुकै समस्यालाई पनि मिलेर नै समाधान गर्ने बैठकले निष्कर्ष निकालेको बताइएको छ ।
सो अवसरमा भारतको बिहारमा बसेर शान्ति–सुरक्षामा चुनौती दिँदै आएका जयकृष्ण गोइतको गतिविधिलाई तत्काल नियन्त्रण गर्ने विषयमा पनि दुबै देशको सुरक्षा निकायले कडाइकासाथ कार्य थालनी गर्ने पनि सहमति भएको बताइएको छ । रासस










प्रतिक्रिया दिनुहोस्