राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ ।
राजविराज नगरपालिका–४ स्थित कल्टु पोखरीछेउमा रहेको व्यापारी विनोद चौधरी (दास)को घरको मूलगेट र राजविराज नगरपालिका–५ स्थित कन्चनपुर रोडमा रहेको छोटु भनिने रवीन्द्र यादवको घरअगाडि बम फेलापरेको थियो ।
दुबै ठाउँमा फेलापरेको बमलाई राजविराज नगरपालिका–४ मा रहेको कल्टुपोखरीमा डिस्पोजल टोलीले डिस्पोज गरेको बताइएको छ ।
बम फेलापरेको ठाउँमा मंगलबार बिहानैदेखि स्थानीयवासी त्रसित हुनुका साथै नजिकैको विद्यालयमा वार्षिक परीक्षा दिन आउने विद्यार्थीसमेत त्रसित भएका थिए ।
दुबै स्थानबाट तराईमा सशस्त्र संघर्ष गर्दै आएका (जयकृष्ण गोइत) नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चासमेत फेलापरेका छन् ।
यसैबीच, जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले एक प्रेस विज्ञप्ति जारी गर्दै दुबै बमको जिम्मेवारी लिएका छन् ।
कैदीको मृत्यु
सप्तरीको राजविराज कारागारमा सजाय भुक्तान गरिरहेका एक बिरामी कैदीको मंगलबार मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका सप्तरीको डाढा गाविस–८ का ८० वर्षीय नथुनीप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मधुमेह तथा मिर्गौला रोगबाट पीडित यादव तीनदिनअगाडि अचानक बिरामी परेका थिए ।
उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकैक्रममा उनको मृत्यु भएको जिप्रका, सप्तरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्