निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकाअनुसार मंगलबार बिहान ८ बजेतिर अन्दाजी ८/१० वर्षको एउटा अर्धवयस्क भालेलाई नियन्त्रणमा लिएको र बिहान करिब ११ बजेतिर अर्काे अर्धवयस्क पोथी गैंडालाई नियन्त्रणमा लिइएको थियो ।
उनले सोमबार नै शुक्लाफाँटामा भाले लगिसकिएकाले मंगलबार समाइएको भाले गैंडालाई भने बर्दियामा लगेर छाडिने जानकारी दिए ।
सोमबार पठाइएको उक्त गैंडालाई मंगलबार करिब १ बजेतिर शुक्लाफाँटामा छाडिएको छ । मंगलबार समाइएका दुईओटा गैंडालाई मंगलबारै पठाइने निकुञ्जको भनाइ छ ।
सोमबार चितवन निकुञ्जको पश्चिम क्षेत्रमा डाट गरेर बेहोस बनाइ नियन्त्रणमा लिइएको अन्दाजी १५/१६ वर्षको वयस्क भाले गैंडालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइएको थियो ।
शुक्लाफाँटामा एक भालेसहित पाँच गैंडा लगिने तयारी छ । यसपालि बर्दियामा लैजाने कार्यक्रम नभएपनि थप एउटा भाले समाइएकाले त्यसलाई बर्दिया लगेर छाडिनेछ ।
गैंडा समाउन चिकित्सक र प्रविधिज्ञको टोलीसहित ३० हात्ती र झन्डै १०० व्यक्ति निकुञ्जको पश्चिम क्षेत्र सुखिभारमा खटाइएको छ ।
सन् २००१ मा शुक्लामा पहिलोपटक यहाँबाट ४ गैंडा पठाइएको थियो ।
हाल नेपालमा ६४५ गैंडा छन् । त्यसमध्ये ६०० ओटा चितवनमा छ भने ९ ओटा शुक्लामा छन् ।
सन् १९८४ देखि सुरु भएको गैंडा स्थानान्तरण कार्यक्रमअन्तर्गत् बर्दियामामात्रै ८८ ओटा पठाइसकिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्