२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


नक्कली छाप र लागुऔषध कारोबार गर्ने दाजुभाइ पक्राउ


0
Shares

साँखु, फागुन १२ । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोबार गर्ने दाजुभाइलाइ पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–६, जोरपाटी, बेसीगाँउस्थित डेरागरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।

गोप्य सूचनाको अधारमा प्रहरीले लागुऔषध कारोबारी भन्ने थाहा पाएपछि मगरको कोठामा छापा मारेको थियो ।

अभियुक्तहरुको कोठमा खानतलासी गर्नेक्रममा प्रहरीले कोठाबाट १६ थान फेनरागन, ११ थान नर्फिन र १४ थान डाइजेल्याप गरी जम्मा ४१ थान लागुऔषध बरामद गरेको थियो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दकाअनुसार लागुऔषध कारोबारी रहेको जानकारी आएपछि निजको कोठामा छापा मार्दा प्रहरीले विभिन्न सरकारी कार्यालयका छापसहित लागुऔषध बरामद गरेको हो ।

मगरको कोठाबाट प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित १८ थान मोबाइल, क्यामेरा एकथान, ल्यापटप एकथान र विभिन्न कार्यालय तथा संघ–संस्थाका १८९ ओटा नक्कली छापहरु बरामद गरेको चन्दले जानकारी दिए ।

दाइ सुजन मगरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएपछि निजले आफ्नो भाइको काठमाडौं, चुच्चेपाटीस्थित ‘टावी इन्टरनेसनल कन्सल्टेन्सी’ भएको र छापहरु उक्त कन्सल्टेन्सीको रहेको बताएका थिए ।

उक्त जानकारीपछि बौद्ध प्रहरीले तत्काल उक्त कन्सल्टेन्सीमा छापा मार्दा विभिन्न सरकारी कार्यालयका लेटरप्याड, विभिन्न प्रदेश, गाउँपालिका, नगरपालिका तथा वडाले प्रमाणित गरेका नक्कली कागजातहरु फेलापारेको थियो ।

कन्सल्टेन्सीमा छापा मार्दा भेटिएका विभिन्न सरकारी कार्यालय तथा संघ–संस्थाका नक्कली कागजात तथा छापहरु बौद्ध प्रहरीले बरामद गरेको छ ।

प्रहरीले दाजुभाइलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेको छ भने थप अनुसन्धानपछि सरकारी कागजात तथा छाप कीर्ते गरेको अभियोगमा पनि मुद्दा चलाउने तयारी भएको जानकारी दिएको छ । रासस