Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


काठमाडौंको विद्युत् प्रणाली भूमिगत गरिँदै, ग्राहकका घरमा ‘स्मार्ट’ मिटर


0
Shares

रमेश लम्साल (रासस)

काठमाडौं, फागुन १२ । विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै सहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको प्रसारण प्रणालीलाई भूमिगत गर्ने भएको छ ।

प्राधिकरणले पहिलो चरणमा काठमाडौंको महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गत्का क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ ।

ती वितरण केन्द्रअन्तर्गत्को विद्युत्को तारलाई भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केइआइ इन्ड्रस्ट्रिज लिमिटेड छनोट भएको हो ।

प्राधिकरणले यही फागुन ६ गते बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ ।

कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनुपर्ने व्यवस्था छ ।

संसारभर नै सहरी क्षेत्रमा विद्युत् वितरण तथा प्रसारण प्रणाली भूमिगत गरिएको छ ।

सहरको आफ्नै सौन्दर्य हुन्छ । जताततै विद्युत् र टेलिफोनका तारका कारण सहर कुरुपमात्रै बनेको छैन, दुर्घटनाको जोखिमसमेत उत्तिकै बढाएकाले प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्न लागेको प्राधिकरणको भनाइ छ ।

कम्पनीसँग महाराजगन्ज वितरण केन्द्रअन्तर्गत्को कामको करिब रु तीन अर्ब ६० करोडमा ठेक्का सम्झौता हुनेछ ।

कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गत्को काम करिब रु तीन अर्ब १२ करोड १५ लाखमा सम्पन्न गर्नेछ ।

मध्य तथा उत्तर काठमाडौं (महाराजगन्ज)का आयोजना प्रमुख अभिषेक अधिकारीकाअनुसार कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुनेछ ।

ठेक्का सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठदेखि काम गर्ने लक्ष्य तय गरिएको अधिकारीले जानकारी दिए ।

उनकाअनुसार कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्नेछ ।

प्राधिकरणले यसअघि अनुमानित लागतभन्दा महँगो दर आएपछि पुरानो ठेक्का रद्द गरी नयाँ प्रक्रिया सुरु गरेको थियो ।

पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरका बालुवाटार, गोंगबु, सामाखुसीलगायतका महाराजगन्ज वितरण केन्द्रअन्तर्गत्का क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।

ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सन्चालन गर्नुपर्नेछ ।

पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित ‘अटोमेसन’ गरिनेछ ।

प्रसारणलाइन भूमिगत गरिएसँगै ती वितरण केन्द्रअन्तर्गत्का करिब ९० हजार ग्राहकका घरमा ‘स्मार्ट’ मिटर जडान गरिनेछ ।

स्मार्ट मिटर जडान भएपछि मिटर ‘रिडर’समेत नचाहिने र ग्राहकले के–कति मात्रामा विद्युत् प्रयोग गर्ने हो, आफैं निर्धारण गर्न सक्नेछन् ।

वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र स्थापना हुनेछ । सोही केन्द्रले ग्राहकको सम्पूर्ण गतिविधिकाबारेमा जानकारी राख्नेछ ।

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामासमेत भूमिगत लाइन विस्तार गरिनेछ ।

यस्तै, विद्युत् प्रणालीको आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजनासमेत प्राधिकरणको रहेको छ ।

सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइनेछ ।

यो प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै तारसहितको पाइप हाल्नसकिने प्राधिकरणको भनाइ छ ।