Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


काठमाडौंमा खुला क्षेत्र मासिएकामा संसदमा आपत्ति


0
Shares

संसद बैठकको विशेष समयमा सांसद भीमसेनदास प्रधानले उपत्यकावासीले खुला स्थान कायम राख्ने लक्ष्यका साथ बसपार्क बनाउन दिइएको स्थानमा व्यावसायिक भवन बनाउन दिइनु गलत भएको धारणा व्यक्त गरे ।

उनले काठमाडौंको खुला स्थान सरकारी निकाय र जग्गा दलालले मनपरी तवरले व्यक्तिको नाममा दर्ता गराएको भन्दै एकाध वर्षमा यहाँ खुला स्थान नै नपाइने अवस्था सिर्जना हुने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रधानले खुला स्थानको अतिक्रमण नरोकिए काठमाडौं उपत्यकाका सांसदले सार्वजनिकरुपमा नै प्रतिरोध गर्ने पनि बताए ।

सांसद भीम आचार्यले १२ हजार बढी कोसी बाँधपीडितलाई तत्काल वासस्थान र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारी निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद डा. सुबोध पोखरेलले सप्तरीमा पछिल्लो दिनमा जंगलीहात्तीको अतिक्रमणले जनधनको क्षति भएको भन्दै हात्ती नियन्त्रण र उचित क्षतिपूर्ति दिन आग्रह गरे ।

सांसद सीपी मैनालीले सबै दललाई स्थानीय तहको निर्वाचनमा भाग लिन नदिइने मनसायका साथ निर्वाचन चिह्न नै नदिने प्रवृत्ति गलत रहेको भन्दै विद्यामान कानुनी व्यवस्था हटाउन आग्रह गरे ।

सांसद प्रेम सुवालले मुलुकको हितका लागि सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।

सांसद विश्वेन्द्र पासवान, हरिचरण साह, गंगा चौधरीले संविधानको भावनाविपरीत गएर सरकारले साना दललाई निर्वाचनमा भाग लिन नदिने उद्देश्यका साथ गतिविधि गरेको र निर्वाचन चिह्न नदिने काम गरेको गुनासो गरे ।

सांसद जनकराज जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको नियुक्त नगरिनु संविधानको मर्म र भावनाविपरीत भएको उल्लेख गरे ।

उनले आयोगको कार्यक्षेत्रबाट हटाइएको अनुचित कार्यसम्बन्धी विधेयक तत्काल संसदमा ल्याउन र पारित गर्नसमेत आग्रह गरे ।

सांसदहरु अञ्जना ताम्ली, वीरबहादुर बलायरले असिनापानीपीडित जनतालाई राहत दिन आग्रह गरे । रासस

Skip This