केशव भण्डारी (इमेज)
बुटवल, फागुन ११ । नेपाल पुलिस क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा च्यासल युथ क्लबलाई ३–१ ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।
पुलिसको जितमा विक्रम धिमालले २ र रवि पासवानले १ गोल गरे । विक्रमले खेलको १५औं र ५७औं तथा रविले ८०औं मिनेटमा गोल गरेका हुन् ।
खेलको अन्तिम मिनेटमा शान्तराम गुरुङले च्यासलका लागि १ सान्त्वना गोल फर्काएका थिए ।
यसअघि, ५८औं मिनेटमा दोहोरो पहेंलोकार्ड खाँदै च्यासलका कप्तान आमिर श्रेष्ठ मैदानबाट बाहिरिएका थिए । च्यासल १० खेलाडीमा सीमित बनेको थियो ।
२ गोल गरेका विक्रम ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
उपाधि भिडन्त
पूर्वविजेता पुलिसले अब उपाधिका लागि क्यामरुनको दाउफिन्स फुटबल क्लबको सामना गर्नेछ ।
यसअघि, शुक्रबार भएको पहिलो सेमिफाइनलमा रुपन्देही–११ हराउँदै दाउफिन्स फाइनलमा पुगिसकेको छ ।
प्रतियोगिताको फाइनल खेल आउँदो सोमबार हुने आयोजकले जनाएको छ ।
विजेताले नगद ८ लाख ८० हजार र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै, उत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल, विधागतरुपमा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने जिल्ला फुटबल सघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्