बिराज रोस्यारा (इमेज)
कैलाली, फागुन ११ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सीवाइसी अत्तरियाले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटलाई हराउँदै अत्तरिया च्याम्पियन बनेको हो ।
उपाधिसँगै अत्तरियाले ३० लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९.५ ओभरमा पूरा गर्यो ।
अत्तरियालाई जिताउनेक्रममा भारतीय खेलाडी सन्नी पटेलले अविजित ४७ रनको पारी खेले । यस्तै, जयकिशन कोल्सावालाले ३० र कप्तान दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे ।
बलिङतर्फ महेन्द्रनगरका मोहम्मद नाभिद र सागर ढकालले समान २÷२ तथा अविनाश बोहरा र सहाव आलमाले १/१ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पूरा २० ओभर खेल्दै ‘अलआउट’ हुनुपूर्व १२३ रन बनाएको थियो ।
महेन्द्रनगरका लागि लागि दिलीप नाथले ४३, कुशल मल्लले २५, रोहितकुमार पौडेलले २४ र मोहम्मद नाभिदले १० रनको योगदान गरे ।
बलिङतर्फ अत्तरियाका दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले समान २/२ तथा कन्नी पटेलले १ विकेट लिए ।
महेन्द्रनगरका ५ ब्याट्सम्यान ‘रन आउट’ भएका थिए ।
ऐरीले पाए सुनको जुत्ता
‘म्यान अफ दी फाइनल’ र ‘म्यान अफ दी सिरिज’ अत्तरियाका सन्नी पटेल घोषित भए । उनले पुरस्कारस्वरुप दुई लाख रुपैयाँ पाए ।
सन्नी पटेल प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानसमेत घोषित भए । यस्तै, उत्कृष्ट बलर अत्तरियाका भुवन कार्की घोषित भए । सोवापत दुवैले १/१ लाख रुपैयाँ पाए ।
प्रतियोगिताको महत्वपूर्ण खेलाडी घोषित हुँदै अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले सुनको जुत्ता प्राप्त पारे ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टिम सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्