लुम्बिनी क्षेत्रमा पुगेका पाकिस्तानी सेनाका अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर तीन दिन अघि बेपत्ता भएका हुन् ।
पाकिस्तानी रक्षा मन्त्रालयले ट्वीट गर्दै मोहम्मद हबिबलाई भारतीय गुप्तचर एजेन्सी ‘रअ’ले अपहरण गरेको जनाएको छ ।
उनी एउटा रोजगारी प्रस्ताव अनुसार नेपाल आएको बताइए पनि त्यसको विस्तृत विवरण खुलाइएको छैन । पारिवारिक स्रोतले उनी लुम्बिनी पुगेको र ६ अप्रिलदेखि सम्पर्कमा नआएको पाकिस्तानी अधिकारीहरुलाई जनाएका छन् ।
मोहम्मद हबिबले पाकिस्तानी सेनाबाट ३१ अक्टोबर, सन् २०१४ मा अवकाश पाएको बताइएको छ ।
पाकिस्तानी रक्षा मन्त्रालयका अनुसार केही अघि उनले अनलाइनमा आफ्नो बायोडाटा पोस्ट गरेका थिए । उनलाई ब्रिटेनको मोबाइल नम्बर र एक वेबसाइटबाट सम्पर्क भएको तथा उक्त वेबसाइट भारतमा होस्ट गरिएको पाइएको पनि रक्षा मन्त्रालयको दाबी छ ।
उनलाई प्रतिमहिना ३,५०० देखि ८,५०० अमेरिकी डलर पारिश्रमिकको प्रस्ताव गरि ६ अप्रिल, २०१७ मा काठमाडौंमा अन्तरवार्ताका लागि बोलाइएको पनि पाकिस्तानी रक्षा मन्त्रालयले जनाएको छ । ओमान हुँदै ६ अप्रिलमा ओमान एअरलाइन्सबाट काठमाडौं आएका उनी सोही दिन बुद्ध एयरबाट लुम्बिनी पुगेको बताइएको छ ।
लुम्बिनी पुगेर उनले पछिल्लो पटक आफ्नी पत्नीसँग कुरा गरेको पनि पाकिस्तानी रक्षा मन्त्रालयले जनाइएको छ । त्यसपछि उनको मोबाइल नम्बर लगातार स्वीच अफ भएको बताइन्छ ।










प्रतिक्रिया दिनुहोस्