आठ रात ९ दिनसम्म मनाइने भक्तपुरको सबैभन्दा ठूलो यो बिस्केट जात्रा नयाँवर्षको आगमनसँगै सुरु हुने गर्दछ ।
काठमाडौं उपत्यकाका विभिन्न जात्राहरुभन्दा फरकखालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ ।
चैत मसान्तका दिन बिहान तालाक्वस्थित कुमालेटोलमा हात नभएको लिंगो र साँझपख योसिंखेल (भेलुखेल)मा बाजागाजासहित शास्त्रोत्त विधिअनुसार पूजा गरी ५५ हात लामो लिंगो उभ्याइन्छ ।
पुरानो वर्षको बिदाइ र नयाँवर्षको आगमनको पूर्वसन्ध्यामा लिंगो उभ्याउने प्रचलन रहेको छ ।
बिस्केट जात्राको पाँचौ दिन अर्थात् नयाँवर्षको पहिलो दिन बैशाख १ गते लिंगो ढालिन्छ ।
अष्टमात्रिकाको प्रतीक मानिने लिंगोमा नाग नागिनीको प्रतीकस्वरुप हलिंपतध्वजा बाँधेर फहराइन्छ । त्यसकोलगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक–आपसमा जुधाउने परम्परा छ ।
यो वर्ष प्रशासनले बिस्केट जात्रालाई सफलरुपले सन्चालन गर्नकानिम्ति १४ स्थानमा सीसी क्यामेरासमेत जडान गरेको र एक हप्ताअघिदेखि नै मदिरा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको छ ।
यसैबीच, सोमबार बिहान बिस्केट जात्रा शान्तिपूर्ण होस् भनी सद्भाव र्याली निकालिएको थियो ।










प्रतिक्रिया दिनुहोस्