
सन्तोष राउत
सोलुखुम्बु, फागुन ११ । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको मुक्लिमा निर्माण गर्न लागिएको सुविधा सम्पन्न दूधकोशी सामुदायिक अस्पतालका लागि स्थानीयले साढे २३ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।
मुक्लिका पविमाया राईले १२ रोपनी जग्गा निःशुल्क प्रदान गरेकी हुन् । त्यस्तै, स्थानीय ललितबहादुर राईले चार रोपनी, शौरभ राई र जोरमान राईले दुई–दुई रोपनी, हेमन्त राई, कर्णबहादुर राईले एक–एक रोपनी र हरिसिंह राईले डेढ रोपनी जग्गा प्रदान गरेको थुलुङदूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए ।
अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएर पुण्य काम गरेको भन्दै जग्गा दान गर्ने दाताहरुलाई योगदानको उच्च मूल्यांकन गर्दै गाउँपालिकाको सम्पुर्ण जनताहरुको तर्फबाट अध्यक्ष राईले सम्मान समेत गरे ।
यसैबीच, अस्पताल निर्माणको लागि २० करोड रुपैयाँ आर्थिक सहयोग सङ्कलन गर्ने लक्ष्यका साथ चैत २ गतेबाट ९ गतेसम्म पण्डित दिनबन्धु पोखरेलबाट वाचन हुने श्रीमद् भागवत सप्ताह महायज्ञको तयारीलाई तिव्र बनाइएको छ ।
५० शैय्याको अस्पताल निर्माणका लागि महायज्ञ सफल पार्न पाँच हजार एक सदस्सीय मूल आयोजक समिति गठन गरिएको छ भने दर्जनौ बाहिरी मुलुकमा उपसमिति गठन गरी सहयोग सङ्कलनको काम भइरहेको अध्यक्ष राईले बताए ।
गाउँपालिकाभित्रका वडा अध्यक्ष र स्थानीय अगुवाको संयोजकत्वमा २६ वटा उपसमिति समेत गठन गरिएको छ ।
चैत्र २ गते शिलन्यास गरिने अस्पताल २ बर्षभित्र निर्माण सक्ने योजना छ । आर्थिक सङ्कलनको लक्ष्य प्राप्तिका लागि जिल्लाका स्थानीय तहसँग साझेदारी गरिएको छ । हरेक स्थानीय तहले कम्तीमा पाँच लाख रुपैयाँ सहयोग गर्ने गरी समन्वय गरिएको अध्यक्ष राईको भनाइ छ । अस्पतालमा नागरिकको अपनत्व बृद्धि गर्नका लागि ‘एक व्यक्ति एक हजार’ दान अभियान सञ्चालन गर्ने योजना छ ।
गाउँपालिकाले महायज्ञ अवधिमा मदिराजन्य पदार्थको बिक्रीमा रोक लगाउने निर्णय गरेको छ । कार्यपालिका बैठकले वडा नं. ६ को मुक्लीको महायज्ञ क्षेत्रमा मदिराजन्य पदार्थको बिक्रीमा तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको अध्यक्ष राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्