प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान प्रधानमन्त्रीलाई भेट्न पुगेका नवनियुक्त प्रहरी महानिरीक्षक अर्याललाई उनले देशमा चुनाव घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै चुनाव सफल पार्ने दिशामा काम गर्न निर्देशन दिए ।
निर्वाचनमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहने भन्दै प्रधानमन्त्री दाहालले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष रुपबाट निर्वाह गर्न पनि निर्देशन दिए ।
निकै लामो किचलोपछि सरकारले सोमबार मात्र अर्याललाई प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदले नियुक्तिको निर्णय गरेलगत्तै सोमबार नै महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरिएको थियो भने अर्यालले राति नै पदभारसमेत ग्रहण गरेका थिए ।
गृहसचिव लोकदर्शन रेग्मीले राति नै मन्त्रालयका अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका उच्च अधिकारीहरूलाई बोलाएर अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।
त्यसपछि अर्याल राति नै प्रहरी प्रधान कार्यालय पुगेर पद बहाली गरेका थिए ।
सरकारले गत माघ २९ गते डीआइजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेकोमा त्यसविरुद्ध दावेदार मध्येका एक नवराज सिलवालसमेतको रीटमा सर्वोच्चले गत चैत ८ गते सरकारी निर्णय उल्ट्याउँदै कार्य सम्पादन मूल्यांकन र वरिष्ठताको आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेश अनुरुपै मन्त्रिपरिषदले चार जना डीआइजीको कार्य सम्पादन मूल्यांकनको अंकसमेत अध्ययन गरी अर्याललाई आईजीपीमा नियुक्त गरेको हो ।
उपप्रधानमन्त्रीहरुको बरिष्ठता विवादले लामो समय मन्त्रिपरिषद बैठक समेत बस्न नसक्दा अदालतको आदेश अनुसार महानिरीक्षक नियुक्त हुन सकेको थिएन ।










प्रतिक्रिया दिनुहोस्