
गीतकार बिपीन किरणले रचना गरेको मुस्ताङको सेरोफेरो झल्कने गीतमा कोरला नाका खोल्न भनिएको छ ।
मुस्ताङको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको गिती एल्बम ‘हाम्रो मुस्ताङ’को मंगलबार बिमोचन गरियो । उक्त कार्यक्रममा पनि कोरला नाकाको रामै चर्चा भयो ।
थकाली समुदायको उद्गम स्थल मानिने घरपझोङ गाउँपालिका–५ ठिनीमा सुरु भएको १२ वर्षे मेलाको अवसरमा सांसद श्रीमाया थकालीले एल्बमको बिमोचन गरेकी हुन् ।
सात वटा गीत रहेको एल्बममा समावेश भएका तिन वटा गीत मुस्ताङ संग सम्बन्धित छन् ।
चलचित्र निर्माता बादल थकाली र सञ्चारकर्मी निरज थकालीको सो एल्बमका गीतमा टिका प्रसाई, कृष्ण काफ्ले, रेश्मा पुन, लेखराज गुरुङ, राजेश पायल राईको स्वर रहेको छ ।
मिलन मोक्तानको संगीत र विपीन किरनको शब्द रहेको गीतमा मुस्ताङको पर्यटकीय, धार्मीक स्थल, कला, संस्कृतीको उजागर गर्नुका साथै कोरला नाका खोल्नलाई आव्हान गरिएको छ ।
गीतको माध्यमबाट आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य रहेको निर्माता निरज थकालीले बताए ।
उक्त गीतको छिट्टै म्युजीक भिडीयो समेत तयार पार्ने उनले जानकारी दिए । गीतकार विपीन किरनले आफुले मुस्ताङको झलको गीतमा दिन कोशिस गरेको बताए ।
ठिनी गाउँ समाजले आयोजना गरेको मेलाको उद्घाटन गर्दै सांसद थकालीले मुस्ताङको प्रचारप्रसार गरी आन्तरीक पर्यटक भित्र्याउन तथा कोरला नाका सन्चालनमा ल्याउन दवाव पुग्ने बताए ।
प्रत्येक १२ वर्षमा लाग्ने परम्परागत यो मेला १५ दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्