नजिकैका गन्तब्यमा नयाँबर्षमा धुमधाम रमाइलो गर्न सकिन्छ । राजधानीको व्यस्तता र भिडबाट केही समयलाई हराउन नजिकैका गन्तब्यहरुलाई आफ्नो प्याकेजमा समेटन सकिन्छ । ‘सर्ट-ट्रिप’का लागि काठमाडौंबाट विहान गएर बेलुकी फर्कन सकिने वा एक/दुई रातको बसाइ गरेर फर्कने गन्तव्यहरु धेरै छन् ।
नयाँ बर्षलाई रमाइलो र स्मरणयोग्य बनाउन सर्ट ट्रेकिङ्ग अर्थात हाइकिङका रमाइला गन्तव्यहरुको ‘आइटीनेरी’ बनाउन सकिन्छ । काठमाडौं उपत्यका आसपासका डाँडाहरु वा रिसोर्टहरु नयाँ बर्षका लागि उपयुक्त छन् ।
सानो बजेटमा धेरै रमाइलो गर्न सकिने स्थानहरु छनोटमा पर्न सक्छन् । धेरैको रोजाइमा परेका नयाँ नयाँ गन्तव्य स्थलहरुको पहिचान भएको छ । त्यसैले पुराना गन्तव्य स्थलहरु भन्दा भिडभाड कम हुने स्थानहरु नया बर्षका लागि उपयुक्त हुन सक्छन् । गाउँले परिवेश, लोकल परिकार र हरियाली स्थानमा रमाउनुको मज्जा पनि बेग्लै हुन्छ ।
खोपासी
‘पनौतीनगर खोपासीबजार, मायालाउला हिंडदै रोशी बगर’ बोलको गीतले खोपासीको परिचय झल्काउँछ । काभ्रेपलाल्चोक पनौती नगरपालिकामा पर्ने खोपासीमा सानो बजार छ । यस आसपासका हरिया डाँडा र फाँटहरु घुम्न लायक छन् । बनेपाबाट १० किलोमिटर दक्षिण पूर्वमा पहाडको काखमा रहेको खोपासी २०२३ सालमै विद्युत उत्पादनले प्रचलित नाम हो ।
नेवारी बस्ती भएकाले खोपासीमा हाँसको छोयला, लोकल रक्सीमा खुबै मजा लिन सकिन्छ । सुन्तला उत्पादन समयमा यहाँको सुन्तला सबैको रोजाइमा पर्छ । काठमाडौंबाट करिब डेढ घण्टामा नमोबुद्ध सम्म बस यात्रा र त्यहाँबाट हिंडेर बन्थलीहुँदै खोपासी पुग्न चार घण्टा छुट्टाउनु पर्छ । फर्कदा चाहीं पनौती हुँदै बस चढेर काठमाडौं आइपुग्न सकिन्छ ।
टौदह
काठमाडौंबाट टौदहमा पुगेर रमाउन धेरै समय छुट्टाउनु पर्दैन । काठमाडौंबाट नजिकै रहेको यो स्थानअत्यन्तै रमणीय छ । धेरै प्रेम जोडीहरु र कलेजका विद्यार्थीहरुको रोजाइमा पर्ने टौदह कीर्तिपुर नगरपालिकामा पर्छ । काठमाडौंको पुरानो बसपार्कबाट दक्षिककालीको बस चढेर टौदह पुग्न सकिन्छ । पुरानो बसपार्कबाट सात किलोमिटर मात्र यात्रा गरेपछि पुग्न सकिने टौदह काठमाडौं उपत्यका भित्रको सबैभन्दा ठूलो ताल मानिन्छ । पर्या-पर्यटनका लागि उपयुक्त स्थानका रुपमा टौदहलाई मानिन्छ । यस तालमा नजिकै रहेको चम्पागिरी पहाडको छाया देख्न पाइन्छ ।
कुलेखानी
विद्युत उत्पादन गर्न पानी भरिएको मकवानपुरको इन्द्र सरोबर (कुलेखानी) घुम्नका लागि उपयुक्त गन्तब्य हो । माछाका परिकारहरु खानका लागी धेरैको रोजाइमा कुलेखानी पर्छ । बास बस्नका लागी सामान्य होटलहरु छन् । यहाँ सफा पानीमा निलो आकाशको छायाँ पर्दा हेर्न खुबै रमाइलो हुन्छ ।
रेष्टुरेन्टका मेनु अनुसार माछा खानलाई बार्हैकाल पर्यटकहरु यहाँ पुग्छन् । कुलेखानीबाट मार्खु, दामन, चित्लाङ पुग्न सकिन्छ । हाइकिङ गर्न उस्तै मजा आउँछ । स्थानीय तालमा पालिएका ताजा माछा खान नयाँ बर्षमा कुलेखाने अब्बल गन्तव्य हो । काठका डुंगा सयर गरेर रमाउन पनि सकिन्छ । निजी गाडी वा वाइकमा जानेहरुको यहाँ घुइचो हुन्छ । काठमाडौंबाट फर्पिङ हुँदै ४५ मिलोमिटर वा सिस्नेरीबाट ५५ किलोमिटर यात्रापछि कुलेखानी पुगिन्छ ।
लप्सीफेदी
काठमाडौंबाट डेढ खण्टामै पुग्न सकिने लप्सीफेदी घुमफिरकालागीआनन्दको स्थलहो । पुरानो बसपार्कबाट करिब २० किलोमिटर पूर्वोत्तरमा रहेको यहाँपुगेपछि गाउँले परिवेशमा मजा लिन सकिन्छ । हरियाली पर्वतका फेदीमा पर्ने चौकी भञ्ज्याङमा सुविधा सम्पन्न रिसोर्टहरु पनि खुलेका छन् । स्थानीय प्रकाश ढकालका अनुसार यो स्थान काठमाडौंबाट केही समय रिफ्रेस हुनका लागि उपयुक्त स्थान हो । पुरानो बसपार्कबाट सोझै जोरपाटी हुँदै मेलम्चीको बाटो लप्सीफेदी पुग्न सकिन्छ । शाली नदीबाट चाहीं पाँच किलोमिटर हाइकिङ गर्दा अर्कै मजा आउँछ । लोकल कुखुराको परिकार यहाँ फेमस छ ।
ह्वाइट गुम्बा
डुक अमिताभा माउण्टेन नामाकरण गरिएको वाइट अर्थात सेतो गुम्बा धेरै युवाहरुले रुचाएको स्थान हो । आकर्षक तथा भव्य गुम्बा र रमणिय स्थलभएको यहाँबाट काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि उपयुक्त स्थान हो । सार्वजनिक सवारी साधननपुग्ने यस स्थानमाजानवाइक सहज हुन्छ । स्वयम्भुवा सितापाइलाबाट डेढ घण्टा हिंडेर गुम्बामापुग्न सकिन्छ । रमणीय बगैंचा र हरियाली डाँडाहरुमा रमाउन उस्तै मजा आउँछ । यहाँ ड्राइ पिकनीकजाँदा राम्रो हुन्छ ।
चिसापानी
काठमाडौंबाट हाइकिङका लागि चिसापानी अब्बल गन्तव्य हो । नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको संगम स्थल चिसापानी पुग्न सुन्दरीजलबाट करिब सात घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ । घना जंगल र तामाङ बस्तीहरुको अवलोकन गर्दै सात घण्टा हिंडेको पत्तो पाइदैन । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र बस्ती छिचोल्दै चिसापानी डाँडामा पुग्न सकिन्छ । यहाँ ३ सय देखि २ हजार सम्मका सुविधायुक्त लजहरु पाइन्छन् । गौरीशंकर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिन्छ । रेष्टुरेन्टमा लोकल कुखुराको मासुका आइटमको स्वादमा रमाउन सकिन्छ ।
भोटेचौर
काठमाडौंबाट नजिकै भएकाले ‘मिनीइलाम’ अर्थात भोटेचौरको चियाबगान धेरैको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा मानिसहरु झुम्मिने गर्छन । चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरु खुलेका छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ । साँखुबाटै हाइकिङ गर्दै गए झनै मजा आउँछ । हाइकिङमा पाँच घण्टाको बाटो हो ।
दल्चोकी
दल्चोकी पछिल्लो समयमा पर्यटककहरुको रोजाइमा परेको स्थान हो । ललिलपुरमा पर्ने यो स्थान काठमाडौंबाट सहजै पुग्न सकिन्छ । लगनखेल बाट २७ किलोमिटर यात्र पार गरेपछि हरियाली डाँडा दल्चोकी पुगिन्छ । बासका लागि होमस्टेका लागि घरहरु तयार छन । काठमाडौं, ललितपुर र भक्तपुरको मनोरम दृश्य हेर्न रमाइलो हुन्छ । गुँरास फुलेको समयमा झनै रमाइलो हुन्छ ।
ककनी
ककनी स्टेबरी र ट्राउन माछाको स्वाद लिन नुवाकोटको उपयुत्त mगन्तब्य हो । काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ । बासका लागि सुविधायुक्त होटहरु छन् । एकहजार देखि दुईहजार सम्मका सुविधायुक्त कोठाहरु पाइन्छ । स्टेबरीको रक्सी र ट्राउन माछाका परिकारहरु रेष्टुरेन्टका मेनुमा उपलब्ध छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने ‘पर्यटकीय हब’ हो ।
दामन
हिउँद महिनामा हिउँ खेल्ने गन्तब्यका रुपमा परिचित दामन नयाँ बर्षको राम्रो गन्तब्य हो । काठमाडौंबाट करिब ८० किलोमिटर टाढा रहेको दामन मकवानपुर जिल्लामा पर्छ । थानकोट-नौबिसे हुँदै पृथ्वी राजपथमार्फत सजिलै पुग्न सकिने दामनमा बार्हैकाल चिसो हावा आइरहन्छ ।
प्राकृतिक सुन्दरता हेर्दै चिसो हावामा रमाउन खुबै मजा आउँछ । दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ६ सय ८८ मिटर उँचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्यूटावर पनि छ । यहाँ पुगेपछि ढिडो, लोकल कुखुराको मासुको परिकारको मजाले स्वाद लिन सकिन्छ । यहाँ बस्नका लागि सामान्य होटलदेखि सुविधासम्पन्न रिसोर्टहरु पनि संचालित छन् ।

रिसोर्टमा आनन्द
काठमाडौं आसपासका हरियाली डाँडाहरुमा सुविधायुक्त रिसोर्टहरु खुल्ने क्रम बढेको छ । फूर्सदको समय सदुपयोग गर्न रिसोर्टहरु अब्बल गन्तब्य हुन । फेमेली वा साथीहरुसँग रिसोर्टमा गएर पारिवारिक वातावरणमा आनन्द लिन सकिन्छ । पछिल्लो समयमा रमाइलो गर्न रुचाउने मध्यम स्तरका पर्यटकहरु रिसोर्टलाई रोज्न थालेका छन् ।
काठमाडौं नजिक एकान्त र हरियाली स्थानहरुमा फरक फरक सुविधाका रिसोर्टहरुमा पर्यटकहरु रमाउन पुग्ने गर्छन । न्यू इयर, बर्थ डे सेलिब्रेसिनका लागि रिसोर्टहरुले पनि अफरहरु मार्फत आगन्तुकहरु तान्ने काम गरिरहेका छन् । मौलिक र फरकपना भएका रिसोर्टहरु एकान्त तथा गाउँमा केन्द्रित छन् । गाउँले र प्राकृतिक वातारणमा करोडौं लगानीमा खुलेका रिसोर्टहरुमा घुम्न जानेहरुको बाक्लो उपस्थिति पाइन्छ ।
–प्रस्तुती: युवराज गौतम/ईमेज










प्रतिक्रिया दिनुहोस्