Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन


0
Shares

काठमाडौं, फागुन १० । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई एअरबस ‘ए ३२०’ को जहाजको मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ ।

समितिमा शुक्रबार भएको छलफलमा सभापति भरतकुमार शाहले यस सम्बन्धमा विस्तृत् अध्ययन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि बोलपत्र खुल्ला नगर्न निर्देशन दिएका हुन् ।

बोलपत्र शुक्रबारै खोल्ने निगमको कार्यतालिका थियो ।

बैठकमा सांसदहरुले कम मूल्यमा बोलपत्र हाल्नेलाई पन्छाएर बढी मूल्य कबोल गर्नेलाई दिन लागेकोप्रति आपत्ति जनाएका थिए ।

सांसद सूर्य पाठकले निगममा लोडरको काम गर्नेले पनि ‘ठूलाले खाने जहाज, सानाले खाने कागज’ भनेको प्रसंग कोट्याउँदै ‘कम मूल्य कबोल गर्नेलाई छनोट नगर्ने हो भने बोलपत्रको प्रक्रिया किन गरेको ?’ भनी प्रश्न गरे ।

सांसद मीना सुब्बाले निगमकै आर्थिक नियमावलीअनुरुपपनि ठेक्का प्रक्रिया अघि नबढेकोप्रति टिप्पणी गरिन् ।

चार कम्पनीले मर्मतका लागि ठेक्का हालेकामा बढी कबोल गर्ने कम्पनीलाई दिने गरी तयारी गरिनु आपत्तिजनक रहेको उनले बताइन् ।

सांसद प्रेम आलेले रु एक अर्ब ५३ करोड राज्यलाई घाटा हुनेगरी जाहाज मर्मत गर्ने कम्पनीको नाम छनोट गर्न नहुनेमा जोड दिए ।

एउटा विचौलियाले सरकारलाई घुमाएको सुनिएकाले स्वीकार्न नसकिने उनको आरोप थियो ।

सांसद विरोध खतिवडाले ‘बोलपत्र आह्वानमै गल्ती भएकाले गल्तीलाई बोर्ड बैठकले उल्टाउने कि व्यक्तिले ?’ भनी प्रश्न गरे ।

बैठकमा सांसदहरु लेखराज भट्ट, राजेन्द्रकुमार केसी, पार्वती विसंखे, पार्वती डिसी चौधरीलगायतले बोलपत्रकाबारेमा थप अध्ययन–अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नियम–कानुनभित्रै रहेर बोलपत्रको प्रक्रिया अघि बढाइएको बताएका थिए । रासस

Skip This