
काठमाडौं, फागुन १० । कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले शुक्रबार आकस्मिकबाहेकका सेवा बहिस्कार गरेका छन् ।
समायोजनले ८ देखि ११ तहसम्मका चिकित्सकहरुलाई स्थानीय तह र प्रदेशमा खुम्च्याउने भन्दै विरोधमा उत्रिएका चिकित्सकहरुले शुक्रबार एक दिन सेवा बहिस्कार गरेका हुन् ।
आकस्मिकबाहेकका सेवा छाडेर चिकित्सकहरु माइतीघर मन्डलामा प्रदर्शन गर्न पुगेका थिए ।
प्रदर्शनमा वीर अस्पतालका पूर्वनिर्देशक डा. स्वयम्प्रकाश पण्डितले समायोजनले चिकित्सकलाई अन्याय गरेको र सरुवा तथा बढुवा नै नहुने अवस्थामा पुर्याएको बताए ।
यस्तै, सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले सरकारले आफूहरुको मागप्रति बेवास्ता गरिरहे सशक्त आन्दोलन घोषणा गर्ने बताए ।
देशभर हाल १४ सय सरकारी चिकित्सक छन् ।
सबै सरकारी चिकित्सकहरुलाई केन्द्र सरकारअन्तर्गत् राखेर चाहिएको स्थानमा खटाउनुपर्ने माग उनीहरुले राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्