
२०७३ साल नेपाली चलचित्र क्षेत्र उत्साहजनक नभए पनि केहीले बाहेक अन्यले सन्तोसजनक ब्यापार गरे । स्वदेशमा मात्र नभइ प्रवासमा नेपाली चलचित्रहरुले सफलता हात पारे ।
०७३ सालभित्र करिब ८५ वटा चलचित्र हलमा प्रदर्शनमा आए पनि सबैले लगानी उठाउन सकेनन् । तर केहीले भने अप्रत्याशित सफलता हात पारे । नेपाली सिने उद्योगमै ऐतिहासिक ब्यापार गरेर केही चलचित्रले इतिहास राखे ।
हलमा प्रदर्शन भएकै आधारमा नाफा कमाउन सफल भएका चलचित्र करिब ६ वटा मात्र रहे भने अन्य केहीले विदेशमा सो गरेर केही नगद हात पारे । नाफाका हिसाबले असफल रहे पनि कतिपय चलचित्र कथाबस्तु, अभिनय, लोकसेन, सिक्वेललगायत सफल भए । ०७३ मा लगानी उठाउन सफल र केही हिट चलचित्रका बारेमा चर्चा गरिएको छ ।
छक्कापञ्जा
चलचित्र ‘छक्कापञ्जा’ले व्यवसायिक कीर्तिमान नै कायम राख्यो । हाँस्य कलाकारहरुको बेजोड अभिनयले धेरै दर्शकको मन तान्न सफल रह्यो । जसका कारण २०७३मा अधिक आम्दानी गर्ने चलचित्रका रुपमा दरियो । दीपाश्री निरौला निर्देशित यो चलचित्र ८० लाख रुपैयाँमा तयार भएर १८ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको निर्माण टिमले दाबी गरेको छ । छक्कापञ्जको गीत र सिंगो फिल्म यूट्युबमा पनि सर्बाधिक हेरिनेमा पर्न सफल भयो ।
जात्रा
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमीलगायतले उत्कृष्ट भनिर टिप्पणी गरेको चलचित्र ‘जात्रा’ २०७३ मा हिट चलचित्रमा दरियो । प्रदिप भट्टराईले निर्देशन गरेको चलचित्र जात्रामा विपिन कार्की, बर्षा राउत, रबिन्द्र झा लगायतको अभिनय धेरैले रुचाए । चलचित्रको कथा, पटकथा र संवाद धेरैले रुचाए भने हलहरुबाट सोचेभन्दा राम्रो आम्दानी चलचित्रले गरेको छ । विदेशमा गरिएको प्रदर्शनबाट जात्राले राम्रो संकलन गर्न सक्यो । नौला हास्य दृश्यले दर्शकलाई निराश बनाएन र निर्मातालाई राम्रै नाफा दियो ।
नाई नभन्नु ल–४
विभिन्न सिरिजमा आएको यो चलचित्र ‘नाई नभन्नु ल–४’ पनि धेरैको रोजाइमा पर्न सफल भयो । प्रीयंका कार्की, वर्षा राउत, पल शाह, आँचल शर्मा, अनुभव रेग्मी, सरोज खनाल लगायतका कलाकारको अभिनय साथै कथाबस्तुले पनि राम्रो चर्चा पायो । विकास आचार्यद्वरा निर्देशिन यस चलचित्रले देशभरका करिब ६० हलमा एकसाथ प्रदर्शन गरेर उल्लेख्य आम्दानी गर्न सफल भयो ।
लुट–टु
चलचित्र ‘लुट’ले चारबर्ष अघि जसरी तहल्का मच्चाएको थियो, सोही अनुरुप सफलता नपाए पनि ‘लुट–२’ हिट चलचित्र बन्यो । ‘ठमेल बजार’को गीतका कारण पनि यो चलचित्र निकै चर्चित रहयो । निश्चल बस्नेतको निर्देशनमा बनेको यो चलचित्रमा झन्डै डेढ करोडभन्दा बढी लगानी भएको र ८ करोड कलेक्सन गरेको बताइन्छ । सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, विपिन अधिकारी, सिर्जना सुब्बा, ऋचा शर्मा लगायतको अभिनय रहेको यो चलचित्रले प्रवासमा सो गरेर थप आम्दानी गरेको निर्माण टिमको भनाइ छ ।
पुरानो डुंगा
दुई दाजुभाईबीचको सम्बन्धमा देखिएको उतारचढावमा केन्द्रीत रही बनेको चलचित्र ‘पुरानो डुंगा’ अपेक्षा गरेअनुरुप सफल नभए पनि राम्रो आम्दानी गर्ने फिल्मको सूचीमा पर्न सफल भयो । ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको यस चलचित्रको कालीप्रसाद बासकोटाको संगीत एवं गायनको गीत ‘निर जहिले रिसाउने’ गीत निकै हिट बन्यो । दुईवटा कथालाई एउटै साँचोमा ढाल्न निर्देशकले गरेको प्रयासले दर्शकको मन त उत्तिसारो जितेन, तर दयाहाङ राई र प्रियंका कार्कीले गरेको अभिनयले खुबै तारिफ पायो । हङकङ, कोरिया, अमेरिका, बेलायतजस्ता देशमा पनि पुरानो डुंगाले उत्तिकै चर्चा पायो र नाफा कमायो ।
कालो पोथी
मुगु र त्यसक्षेत्रको परिवेश तथा खसभाषी पात्र उतारेर मौलिक रुपमा निर्माण भएको चलचित्र ‘कालोपोथी’ले पनि राम्रो सफलता हात पा¥यो । खड्गराज नेपाली र शुक्रराज रोकायसँगै जितबहादुर मल्ल, हंश खड्का, नन्दप्रसाद खत्री, बेनिशा हमाल, विपिन कार्की, प्रवीण खतिवडालगायतको अभिनय खुबै रुचाइयो । भेनिस फिल्म फेस्टिभलमा पुरस्कृत भएर झनै चर्चा बटुलेको यो फिल्म मीनबहादुर भामले निर्देशन गरेका हुन् । उल्लेख्य आम्दानी नगरेपनि यस चलचित्रले चर्चा भने खुबै पाइरहेको छ । विषयबस्तु र बाल कलाकारको भूमिका खुबै प्रसंशा भएको छ ।
बीर बिक्रम
ग्रामीण परिवेसलाई आधार मानेर निर्माण गरिएको चलचित्र ‘बीर विक्रम’ सफल चलचित्रमा गणना हुन पुग्यो । मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, अनुप बिक्रम शाही, अर्पण थापा, नाजिर हुसेन र दिया पुनको अभिनयको प्रशंसा भयो । राम्रो आम्दानी गर्न नसके पनि चलचित्र चर्चामा रहयो ।
लप्पन छप्पन
दुई करोडभन्दा बढी लगानीमा बनेको चलचित्र ‘लप्पन छप्पन’ले पनि राम्रै सफलता पायो । युरोपमा छायांकन गरिएको चलचित्र भएकाले नेपाली हलहरुमा दर्शकहरु उत्साहित रुपमा झुम्मिएका थिए । सौगात मल्ल, दयाहाङ राई, वर्षा शिवाकोटी, अर्पण थापालगायतको अभिनयको राम्रै चर्चा भयो । फिल्म जति चर्चा भए पनि आम्दानी भने सोचे अनुसार भएन् ।
चपली हाइट- टु
अघिल्लो ‘चपली हाइट’ जस्तो चर्चा नपाए पनि ‘चपली हाइट टु’ ले आशातित सफलता भने पाउन सफल रहयो । दिपेन्द्र के खनाल निर्देशित ‘चपली हाइट टु’ले अपेक्षाकृत व्यवसाय नगरेपनि निर्माताको लगानी डुब्न दिएन । यो चलचित्रमा आयुष्मान देशराज श्रेष्ठ, मरिष्का पोखरेल तथा परिमिता रानाको स्वभाविक अभिनयको प्रशंसा भयो ।
गाजलु
सामाजिक परम्परा र परिवेषमा आधारित चलचित्र ‘गाजलु’ अभिनेता अनमोल केसीको क्रेजका कारण चर्चित रहयो । मिस नेपाल-२०१२ सृष्टि श्रेष्ठको जोडीका रूपमा पर्दामा देखिएका चकलेटी अभिनेता केसीको यो चलचित्र हेर्न युवा दर्शकहरु हलसम्म पुगे । निर्देशक हेमराज बिसीले पहिलेका चलचित्रहरूमा भन्दा फरक भूमिका निर्वाह गर्ने अवसर दिएकाले चलचित्रले घाटा ब्यहोर्नु परेन् । अनमोल केसी, गौरव पहारी, सलोन बस्नेत, सृष्टि श्रेष्ठ, मेनका प्रधान, गौरी मल्लले यसमा अभिनय गरेका छन् ।
बर्षभरी चर्चामा
एकबर्ष भित्र प्रदर्शनमा आएका चलचित्रहरु मध्ये अन्य केहीले पनि राम्रै ब्यापार गरेका छन् । सबैले लगानी उठाउन नसके पनि तारिफ भने राम्रै पाएका छन् । रेखा थापाको ‘रामप्यारी’, आकाश अधिकारीको ‘के म तिम्रो होइन र’, ज्ञानेन्द्र देउजाको ‘बुद्ध बर्न इन नेपाल’ बाबुराम दाहालको ‘तीन घुम्ती’, लक्ष्मण सुवेदीको ‘लालजोडी’ले पनि चर्चा कमाए ।
राजु गिरीको ‘जिस्म’, श्रीराम महतको ‘म त तिम्रै हुँ’ रिम विश्वकर्माको ‘रेलिमाई’, त्यसै गरी सुरज भुसालको ‘गाँठो’, अपिल विष्टको ‘झुम्की’, आशीष श्रेष्ठको ‘सफर’, योगेश घिमिरेको ‘राधा’, तुलसी घिमिरेको ‘दर्पण छाया २’ अरुणकुमार प्रधानको ‘यो साइनो मायाको’ मधुसूदन भट्टराईको ‘निर्भय’, सुवास कोइरालाको ‘पलास’लगायतले सामान्य चर्चा बटुले तर लगानी उठाउन सकेनन् ।
-प्रश्तुती- युवराज गौतम/ईमेज
प्रतिक्रिया दिनुहोस्