ध्रुव भट्टराई
विराटनगर, फागुन १० । नेपालमा उत्पादित माछाको माग बढिरहेका बेला विराटनगरमा भने भारतीय माछाको आयात उच्च देखिएको छ । मोरङ र आसपासका जिल्लामा व्यावसायिक माछापालन भइरहे पनि प्रतिस्पर्धा गर्न नसक्दा भारतीय माछाको एकाधिकार अझै कायमै छ ।
झापा जिल्ला माछामा आत्मनिर्भरतातर्फ उन्मुख भए पनि विराटनगर नाकाबाट भने भारतीय माछाको आयात उत्तिकै छ । पूर्वी नेपालको प्रमुख नाका विराटनगरको रानीबाट ठूलो परिणाममा माछा आयात भइरहेको छ । नेपाली कृषकहरुले माछामा लगानी बढाइरहे पनि भारतीय माछासँग प्रतिस्पर्धा गर्न नसक्दा भारतीय माछाको एकाधिकार अझै तोडिन सकेको छैन ।
पूर्वी नेपालका मूख्यतः मोरङ, सुनसरी लगायतका जिल्लामा अहिले पनि सिजनमा ७० प्रतिशत र अफसिजनमा ९० प्रतिशत माछा भारतबाट आउने गरेको छ ।
प्रदेश नम्बर १ को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कमा प्रदेश नं. १ मा वार्षिक ८ हजार मेट्रिकटन ताजा माछा उत्पादन हुने गरेको छ । जुन, कुल मागको २० देखि २५ प्रतिशतमात्र हो, बाँकी माग भारतीय माछाले धानिरहेको छ ।
नेपाली माछाको माग बढ्दो भए पनि उत्पादित माछाले भारतीय माछासँग प्रतिपस्र्धा गर्न नसकेको स्थिति छ । प्रदेश नं १ मा वार्षिक २८ हजार मेट्रिक टन माछाको बजार माग रहेकामा १९ हजार मेट्रिक टन माछा भारतबाटै आउने गरेको छ । नेपाली उत्पादनका माछाले बजार धान्न नसकेपछि बाध्य भएर भारतीय माछा आयात गरिएको व्यापारीहरु बताउँछन् ।
केही वर्ष अघिसम्म भारतबाट मरेका माछा आउने भए पनि अहिले भने जिउँदा र ताज माछा आउन थालेका छन् । त्यसमा पनि भारतीय माछा सस्तो पाइने भएकाले पनि नेपाली उत्पादन ओझेलमा परेको छ ।
सरकारले मोरङ जिल्लालाई माछामा आत्मानिर्भर बनाउन नयाँ पोखरी खन्नेदेखि मर्मत संभारका लागि सहयोग गरिरहेको छ । बजारमा देखिएको असन्तुलित मूल्यलाई सन्तुलित बनाई नेपाली माछा उत्पादकलाई प्रोत्साहित गर्न सरकारी पहलको खाँचो छ ।









प्रतिक्रिया दिनुहोस्