व्यापारिक मार्ग बिस्तार आयोजना अन्तर्गतको यस सडकमा बत्तीको जडान सकिँदा २४ किलोमिटर सडक पूरै झिलिमिली हुनेछ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बेलहिया–बुटवल ६ लेन सडकखण्डमा अहिलेसम्म झण्डै ४५ प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ ।
सडक पूरा भएपछि सबैमा करिब १ हजार ५ सय सौर्य बत्ती जडान गरिने छ । देशकै नमूना सडक मानिएको यस खण्डको काम सम्पन्न भएको क्षेत्रमा सौर्य बत्ती जडान गरिएको हो ।
पहिलो चरणमा बुटवल चौराहादेखि तिलोत्तमाको ड्राइभरटोलसम्म करिब दुई करोड रूपैयाँ लागतमा १ सय ५० वटा सौर्य बत्ती जडान गरिने आयोजनाका इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए ।
दोस्रो चरणमा ड्राइभरटोलदेखि मणिग्रामसम्म फेरि एक सय वटा बत्ती जडान गरिने छ । सडक बत्तीमा खपत भइरहेको विद्युतीय ऊर्जालाई घटाउँदै सरकारले विभिन्न शहरमा सौर्य ऊर्जाबाट बत्ती बाल्ने अभियान बनाएको हो ।
सौर्य बत्तीले बिजुलीको खपत घटाउनुका साथै सडकको सुन्दरता बढाउने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्