नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा पर्ने बेगनास र रुपातालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो ।
पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनःबिजुलीकै सहयताले माथि तानी पुनः विद्युत् उत्पादन गर्ने गरिन्छ । छिमकीराष्ट्र चीनमा यस प्रकारका आयोजना बढी सन्चालनमा छन् ।
लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपातालमा खसालेर करिब एक सयदेखि तीन सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । बेगनास माथिल्लो र रुपा तल्लो तहमा पर्छ ।
विद्युत्को अध्याधिक माग हुने साँझको समयमा करिब चार घन्टा चलाउन मिल्ने गरी ‘पिक स्टोरेज’ बनाउने प्रस्ताव प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अगाडि सारेका हुन् ।
आयोजना निर्माण भएमा यसले ‘पिक आवर’को विद्युत् माग पूरा गर्ने ब्याट्रिकोरुपमा काम गर्ने प्राधिकरणको विश्वास छ ।
सरकारले गत साल फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा संकटकाल तथा कार्यान्वयन दशकसम्बन्धी अवधारणामासमेत पम्प स्टोरेज आयोजनालाई अगाडि बढाउने विषय समावेश गरेको थियो ।
वि.सं. २०७५ असारमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणपछि पनि पिक आवरको विद्युत् मागलाई पूरा गर्न गाह्रो हुने र ऊर्जाको विविधिकरणका लागि प्राधिकरणले पिक स्टोरेज निर्माण योजना अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
उनकाअनुसार बेगनास र रुपातालबीचमा रहेको ५७ मिटर लामो प्राकृतिक बाँधलाई प्रयोग गरेर आयोजना निर्माण गरिने छ ।
कार्यकारी निर्देशक घिसिङले पम्प स्टोरेज आयोजना निर्माणका लागि अध्ययन भइरहेको र छिट्टै निष्कर्षमा पुगिने जानकारी दिए ।
बेगनास तालको सञ्चित पानी त्यहीँको प्राकृतिक बाँधमा प्रयोग गरी रुपातालमा खसाएर विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।
कार्यकारी निर्देशक घिसिङले भने–‘रुपातालमा जम्मा भएको पानीलाई रातको समयमा पम्प गरी पुनः बेगनास तालमै खसालिने छ ।’
रुपातालमा खसालिएको पानी पुनः बेगनासमा फर्काइने भएकाले त्यसले दुबै तालको हालको प्राकृतिक अवस्था, सौन्दर्य तथा जैविक अवस्थितिलाई कुनैपनि प्रभाव नपार्ने अध्ययनले देखाएको छ ।
कार्यकारी निर्देशक घिसिङले केही दिनअघि प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सन्चालक प्रदीपकुमार थिकेसहितको प्राविधिक टोलीले आयोजनाको स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो ।
यसअघि काठमाडौं विश्वविद्यालयको सिभिल तथा जियोमेटिक्स विभागका प्रा.डा. रमेशकुमार मास्के नेतृत्वको टोलीले केहीवर्ष अघि गरेको अध्ययनले बेगनास–रुपा पम्प स्टोरेज जलविद्युत् आयोजनाबाट एक सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको थियो ।
आयोजनाबाट साँझको पाँच घन्टा एक सय मेगावाट विद्युत् उत्पादन गर्नसक्ने देखिएको छ ।
विद्युत् उत्पादनपछि रुपाको पानी बेगनासमा फर्काउने कार्यका लागि पम्प चलाउन करिब १२५ मेगावाट विद्युत् आवश्यक पर्नेछ ।
रातको समयमा उल्लेख्य मात्रामा विद्युत् उपलब्ध हुने भएकाले त्यसमा कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्