मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको सोमबार नेपालगन्जमा उद्घाटन गर्दै गृहमन्त्री निधिले केन्द्रीय सुरक्षा समितिले निर्वाचनलाई लक्षित गरी विशेष योजना तयार गरेको जानकारी गराए ।
उनले निर्वाचनमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार, राजनीतिक दल र मतदान केन्द्रको सुरक्षा गर्न सुरक्षा प्रमुखहरुलाई सम्पूर्ण क्षमता प्रयोग गर्न निर्देशन दिँदै निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिए ।
गृहमन्त्री निधिले निर्वाचनमा केही असन्तुष्टि, असमझदारी, संविधानविरोधी, भूमिगत समूह तथा राजनीतिक शक्तिहरु सक्रिय रहेकाले चुनौती पनि भएकाले त्यसलाई सामना गर्न सुरक्षा व्यवस्था चुस्त–दुरुस्त बनाएको बताउँदै निर्वाचन आयोगसँगको समन्वयमा निर्वाचन सम्पादन अभियान अगाडि बढाएको बताए ।
उनले भने–‘हामी निर्देशन गर्ने र योजना बनाउने हो, कार्यान्वयन गर्ने तपाइँहरु हो, त्यसैले तपाइँहरुको भूमिका महत्वपूर्ण छ, हरेक नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइ निर्वाचन सम्पन्न गराउन हाम्रो काँधमा ठूलो जिम्मेवारी छ ।’
उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री निधिले यो मुलुकको लागि ऐतिहासिक पुनःसंरचना भइ लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले सबैले यसमा सहभागिता जनाउनुपर्ने बताउँदै ‘अब नागरिकका अधिकार सुनिश्चित हुनेबेला आएको छ’–भने ।
उनले भने–‘यो बैठकले क्षेत्र, अञ्चल र जिल्लाका सुरक्षा व्यवस्था रणनीतिका विषयमा छलफल गरी विशेष प्याकेज तयार गर्नेछ ।’
गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गृह मन्त्रालयका सहसचिव तथा सुरक्षा समन्वय महाशाखा प्रमुख बालकृष्ण पन्थीले गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेका थिए भने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले स्वागत मन्तव्य राखेका थिए ।
गोष्ठीमा क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र मध्यपश्चिमाञ्चल क्षेत्रका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षा प्रमुखको सहभागिता रहेको छ ।
गोष्ठीमा जिल्लागतरुपमा सुरक्षा अवस्थाका विषयमा प्रस्तुतीकरण र वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षा रणनीतिक योजनालगायतका विषयमा विशेष छलफल गरी योजना तयार गरिने जनाइएको छ । रासस










प्रतिक्रिया दिनुहोस्