Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


राष्ट्रपति भण्डारीसँग केजरीवालको भेट, ‘निर्वाचनमार्फत् नेपाल स्थिरतातर्फ जाओस्’


0
Shares

भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा सोमबार अपराह्न यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीसँग नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरी, राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठीले अलग–अलग भेट गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो भारत भ्रमणले दुई निकट छिमेकी देशबीचको सम्बन्ध अझै प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालमा लोकतन्त्र संस्थागत गर्न भारत र भारतीय जनताको हिजोका दिनमाजस्तै सहयोग र शुभेच्छा रहने अपेक्षा गरिन् ।

राष्ट्रपति भण्डारीसँगको भेटमा नेताहरुले नेपालमा शान्ति, स्थिरता र विकासमा आफूहरुको सदैव सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनीहरुले नेपालमा लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचनमार्फत् संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिएको र यसमा आफूहरुको सदैव शुभेच्छा रहेको पनि बताएका थिए ।

भारतीय नेताहरुले नेपालमा अझैपनि स्थिरता, विकास र लोकतन्त्रको संस्थागत विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै निर्वाचनमार्फत् मुलुक स्थिरतातर्फ जाओस् भन्ने कामना गरेका थिए ।

राष्ट्रपतिसँगको भेटपछि भाकपा (माक्र्सवादी)का महासचिव यचुरीले नेपाल संविधान निर्माणपछि यसको कार्यान्वयनको ऐतिहासिक मोडमा रहेकाबेला राष्ट्रपतिको ठूलो जिम्मेवारी रहेकाले चुनावमार्फत् संविधान कार्यान्वयन होस् र आधुनिक नेपाल विकासको मार्गमा अगाडि बढोस् भन्ने आफूले शुभकामना व्यक्त गरेको बताए ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. महत, शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

यसअघि, राष्ट्रपति भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बालविकास मामिला राज्यमन्त्री कृष्णाराज, भारतीय विदेश मन्त्रालयका शिष्टाचार महापाल सञ्जय बर्मा, नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीलगायतले स्वागत गरेका थिए ।