तीन वर्ष अगाडि नवलपरासीको कावासोती–१५ स्थित अमलटारी गाउँका ५० घरका बासिन्दाले थारु होमस्टे सञ्चालनमा ल्याएका थिए ।
सो होमस्टेमा विस्तारै आन्तरिकसहित बाह्य पर्यटकसमेत आउन थालेपछि सम्बद्ध महिलाले विस्तारै अङ्ग्रेजी बोलचाल गर्न सक्षम भएका हुन् ।
पाहुनाको स्वागत सत्कारदेखि खाना र बासका लागि महिलाले नै बढी काम गर्ने भएकाले महिलामा अङ्ग्रेजी बोलीचालीको मोह बढ्दै गएको हो ।
यहाँका महिलालाई होमस्टेका व्यवस्थापन पक्षसंग अङ्ग्रेजी सिकाउन माग गरेपछि अमलटारी थारु होमस्टे सञ्चालक समितिले प्रशिक्षक नियुक्ति गरेर प्रशिक्षण दिएको थियो ।
ती महिलालाई ९० दिनसम्म सामान्य अङ्ग्रेजी बोलचालको अभ्यास गराएपछि उनीहरु सामान्य अङ्ग्रेजी बोल्न सक्ने भएका हुन् ।
वर्षको छ सयका हाराहारीमा विदेशी पाहुना आउँछन् उनीहरुका लागि अङ्ग्रेजी जानेको व्यक्ति चाहिएकाले महिलालाई पनि समान्यतः अङ्ग्रेजी बोलीचालीको भाषा सिकाएको सो समितिले जनाएको छ ।
घरमा बस्दा पाहुनासँग बोल्ने गर्दा उनीहरु रमाउने र हाम्रो संस्कृति बुझाउन सकिने भएकाले अङ्ग्रेजी बोलचाल प्रभावकारी भएको होमस्टे सञ्चालक धनमाया महतोले बताए ।
नेचर गाइडका रुपमा समेत काम गरिसक्नु भएका अङ्ग्रेजी भाषामा दख्खल राख्ने धनबहादुर मर्दनियाले थारु महिलालाई अङ्ग्रेजी सिकाएका हुन् । सरकारले अमलटारी गाउँलाई पर्यटकीय गन्तव्य गाउँ घोषणा गरेको छ ।
नवलपरासीको कावासोती–१५ स्थित अमलटारी गाउँमा हाल दैनिक रुपमा करिब एकसय आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् ।
जिल्लाको नमुना होमस्टे अमलटारीमा सफल भएपछि अहिले जिल्लाका अन्य स्थानमा पनि होमस्टे सञ्चालन हुँदै आएको छ । रासस









प्रतिक्रिया दिनुहोस्