Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रपति भण्डारीलाई भारतले दिएको सम्मानमा कुनै कमी छैन : परराष्ट्रमन्त्री


0
Shares

राष्ट्रपति भण्डारीको भारत भ्रमणमा रहेका मन्त्री डा. महतले बुधबार बिहान स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददातासँग भने–‘दुई देशबीचको सम्बन्ध विकसित गर्न र थप सद्भावना बढाउन यो भ्रमण फलदायी भएको छ ।’

भ्रमणकाक्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताले नेपाल–भारत सम्बन्धको महत्वमा जोड दिँदै नेपालले संविधान कार्यान्वयन गर्न र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गरिरहेका प्रयासप्रति सद्भाव प्रकट गरेको जानकारी मन्त्री डा. महतले दिए ।

‘उहाँहरुले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ’–डा. महतले भने ।

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा भारतका राज्यमन्त्रीले स्वागत गरेको भन्नेबारेको पत्रकारको जिज्ञासमा मन्त्री डा. महतले नेपालका राष्ट्रपतिलाई भारत सरकारले दिएको सम्मानमा कुनै कमी नभएको स्पस्ट गरे ।

उनले भने–‘नेपालका राष्ट्रपतिलाई भारतले दिने ‘गार्ड अफ अनर’ महत्वपूर्ण कुरा हो र यो राष्ट्रपति भवनमा प्रदान गरिएको थियो । त्यसक्रममा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।’

हामीले यस्तो ‘अनर’ विमानस्थलमै दिने गरेकाले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा विमानस्थलमा नै नेपालका राष्ट्रपति पनि उपस्थित भएको मन्त्री डा. महतले स्पस्ट गरे ।

राष्ट्रपति मुखर्जीको निमन्त्रणामा भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीको पहिलो दुई दिन नयाँदिल्लीका लागि तय भएका औपचारिक कार्यक्रम तथा उच्चस्तरीय भेटघाट मंगलबार रातिसम्म सम्पन्न भएपछि मन्त्री डा. महत बुधबार स्वदेश फर्किएको उनका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले विज्ञप्तिमार्फत् जानकारी दिए ।

नयाँदिल्लीमा रहँदा राष्ट्रपति भण्डारी तथा भ्रमण दलमा सहभागी अन्य उच्च अधिकारीलाई भारतको राष्ट्रपति भवनमा आतिथ्यता प्रदान गरिएको छ ।

भारतको शिष्टाचार प्रचलनअनुसार मंगलबार बिहान राष्ट्रपति भवनको फोरकोर्टमा भारतका राष्ट्रपति मुखर्जी तथा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भण्डारीलाई औपचारिक स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले उनलाई प्रदान गरिएको ‘गार्ड अफ अनर’को अवलोकन गरिन् ।

भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत भारत सरकारको वरिष्ठ मन्त्रिगणसँग भेटघाट तथा सौहार्द्रपूर्ण कुराकानी भएको मन्त्री डा. महतले जानकारी दिए ।

त्यसैगरी, मंगलबार साँझ नेपालका राष्ट्रपतिको सम्मानमा भारतका राष्ट्रपतिले राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गरेका थिए ।

त्यसक्रममा पनि भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिगण तथा विभिन्न राजनीतिक दलका नेताको सहभागिता थियो ।

भारत र नेपालका राष्ट्रपतिहरुको भेटमा दुई मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धबारे विचार आदान–प्रदान हुनाका साथै उच्चस्तरीय राजनीतिक भ्रमण, भेटघाट तथा कुराकानीले सम्बन्ध थप सुदृढ बनाउन योगदान गर्नेबारे चर्चा भएको मन्त्री डा. महतले बताए ।

ती भेटमा जलविद्युत्, भौतिक पूर्वाधार, अन्तरदेशीय सम्पर्क तथा भूकम्पपछिको पुनःनिर्माणलगायत क्षेत्रमा सहयोग आदान–प्रदानको समीक्षा हुनाका साथै सहयोगलाई थप विस्तार गर्नेबारे छलफल भएको थियो ।

भारतका प्रधानमन्त्री मोदीसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले उनको नेतृत्वमा भारतले आर्थिक वृद्धि तथा विकासमा हासिल गरेको प्रगतिप्रति बधाइ दिँदै छिमेकी एवं जोडिएको अर्थतन्त्रको हिसाबले नेपालले पनि भारतको प्रगतिबाट लाभ लिन चाहेको बताइन् ।

त्यसक्रममा प्रधानमन्त्री मोदीले छिमेकीमुलुकको प्रगति तथा विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री डा. महतले जानकरी दिए ।

महिला सशक्तीकरण तथा समावेशिताका क्षेत्रमा संवैधानिक व्यवस्थालगायत माध्यमबाट नेपालले प्राप्त गरेका उपलब्धिबारे राष्ट्रपति भण्डारीले चर्चा गर्दै संविधान कार्यान्वयन गर्ने सिलसिलामा एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थानुरुप स्थानीय तहको निर्वाचन कार्यक्रम तय भइ निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको जानकारी पनि दिएकी थिइन् ।

लोकतन्त्रको संस्थागत विकास एवं आर्थिक प्रगतिका लागि नेपालले गर्ने हर प्रयासमा भारतको सद्भाव एवं सहयोग रहने कुरा भारतीय प्रधानमन्त्रीले बताएको जानकारी मन्त्री डा. महतले दिए ।

राष्ट्रपति भण्डारीसँग भारतका विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र अर्थमन्त्री अरुण जेट्लीले पनि शिष्टाचार भेट गरेका थिए ।

त्यसैगरी, भारतीय जनता पार्टीका महासचिव राममाधव नेतृत्वको एवं अन्य राजनीतिक दलका प्रतिनिधिमन्डलले पनि उनीसँग शिष्टाचार भेट गरे ।

भारतीय विदेश मन्त्रालय, भारतीय उद्योग परिसंघ, उद्योग वाणिज्य महासंघद्वारा संयुक्तरुपमा आयोजित भारतीय तथा नेपाली उद्योगी र व्यवसायीसँगको अन्तरक्रियामा राष्ट्रपति भण्डारीले निजी क्षेत्रको प्रबद्र्धन तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपालले प्रदान गरेका सुविधाकाबारे जानकारी दिँदै लगानीकर्तालाई नेपालमा बढीभन्दा बढी लगानी गर्न आमन्त्रण गरेकी थिइन् ।

सोही कार्यक्रममा परराष्ट्रमन्त्री डा. महतले नेपालमा विद्यमान व्यापार तथा लगानीमैत्री नीतिकोबारे चर्चा गर्दै नेपालमा लगानीका लागि भारतीय उद्योगी–व्यवसायीलाई आग्रह गरेका थिए । रासस