Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बरुण नदीमा आएको बाढीले अरुण नदी थुनियो, विध्वंशको खतरा


0
Shares

बाढी पहिराको कारण भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो । बिहीबार साँझदेखि नदी थुनिएपछि करिब दुई किलोमिटर लामो ताल बनेको छ ।

नदी थुनिएपछि बरुण बजार क्षेत्रको तीनवटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने चारवटा घर उच्च जोखिममा परेको छ ।

नदी थुनिएपछि कपासे, भोटखोला गाउँपालिका ४ र ५ नं वडा, तावाखोला तथा अरुण किनारका अन्य वस्ती जोखिममा परेका छन् । ताल फुटेको खण्डमा अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार, शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको वस्तीमा क्षति पुग्ने अवस्था छ ।
बरुण नदी अरुण नदीमा आएर मिसिन्छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार अहिले सो क्षेत्रमा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लामै रहेका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ नदी थुनिएको क्षेत्रतर्फ गएका छन् ।

यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा थुनिएको पानी सावधानीपूर्वक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री निधिको निर्देशनपछि गृह मन्त्रालयबाट प्राविधिक टोली हेलिकोप्टरबाट सङ्खुवासभा जाने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो टोलीमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का, गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाको प्राविधिक टोली, सशस्त्र प्रहरी तथा जल उत्पन्न प्रकोप विभागका प्रतिनिधिलगायत छन् ।

पहिरोका कारण चीनसँगको नाका किमाथाङ्का जाने बाटोसमेत बन्द भएको गृह मन्त्रालयले जनाएको छ । (रासस)