१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024


धनुषामा पाँच दर्जन बढी घर डुबानमा


0
Shares

नवीन सिंह (इमेज)

जनकपुर, असार २० । गत चार दिनदेखिको वर्षाका कारण धनुषाका विभिन्न क्षेत्र डुबानमा पर्ने सम्भावना बढेको छ ।

जलाध नदीको पानीका कारण मिथिला नगरपालिका वडा नम्बर–४, पुष्पवलपुरस्थित चौकीटोलका पाँच दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।

यस्तै, जलाध नदीसहितका कमला नदी, जमुनी, चमेलीसहितका ८ ओटा स्थानीय तहका दर्जनौं वडाहरुको ग्रामीण भेगमा बाढीको पानी पस्न थालेपछि ‘हाइअलर्ट’ घोषणा गरिएको छ ।

जिल्लाको पूर्वी भेगमा रहेको कमला नदीमा वर्षात्को पानीको बहाव बढेपछि सबैला नगरपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, पश्चिमी भेगका चमेली र जलाध नदीका कारण मिथिला नगरपालिका र दक्षिणी  भेगका जमुनी नदीका कारण नगराइन नगगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकासहितका स्थानीय तहका सयौं वडा बाढीको जोखिममा रहेका छन् ।

पूर्वतयारीस्वरुप जिल्लाका विपद् व्यवस्थापन तथा न्यूनीकरण शाखा र नेपाल रेडकक्रस सोसाइटी, नेपाल प्रहरी र नेपाली सेनासहित स्थानीयको सहयोगमा पानीका बहाव बढेका नदीको विभिन्न ठाउँमा तटबन्ध बाँध्ने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए ।

निरन्तर वर्षाको क्रम नरोकिए जिल्लाका सातओटा स्थानीय तहका साथै सम्पूर्ण जिल्ला नै बाढीको चपेटमा पर्ने सरोकारवालाहरुले औंल्याएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले भने अविरल वर्षाका कारण आएको पानीको बहाव र सम्भावित खतरासँग जुध्नका लागि प्रहरी तयारी अवस्थामा रहेको जनाएको छ ।