Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चिउरा कुटेर परम्पराको जगेर्ना, टोखाका महिलाको ‘गजब’को दैनिकी(भिडियो)


0
Shares

-सुनिता तामाङ/ लक्ष्मण डंगोल(ईमेज)

विगतका परम्परालाई जोगाउँदै त्यसलाई अझ समुन्नत बनाउने अहिलेको पुस्ताको दायित्व हो । मौलिक संस्कृति जोगाएर यस्तै दायित्व पूरा गर्दै छन् काठमाडौंको टोखा सरस्वती लाछी महिला समूहका सदस्यहरु ।

परम्परा र संस्कृतिलाई जोगाउने उद्देश्यका साथ उमेरले ६४ वर्ष पुगे पनि टोखाकी कृष्णमाया श्रेष्ठ परम्परागत पेशालाई नै निरन्तरता दिइरहेकी छन् ।

ढिकीमा चिउरा कुट्नु उनको दैनिक कर्म हो । कृष्णमाया जस्तै टोखामा अन्य महिलाहरु पनि यो परम्परालाई निरन्तरता दिन जुटेका छन् ।

संस्कृति जोगाउने यो अभियानमा सामूहिक नेतृत्व गरेको छ टोखा सरस्वती लाछी महिला समूहले । २०७० मा स्थापना भएको यो समूहमा १२ जना महिला सदस्य छन् ।

नेवार समुदायमा निकै नै प्रचलित चिउरा कुट्ने परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ लागेका यी महिला दिदीबहिनीको काम साच्चिकै सहनीय छ ।

त्यसैले त यसलाई निरन्तरता दिंदै यो पेशा भावी पुस्तालाई हस्तान्तरण गर्ने उनीहरुको उद्देश्य छ ।

महिलाहरुको यो समूहले प्रत्येक सदस्यबाट मासिक बचत गरी विभिन्न मेला आयोजना हुँदा स्टल समेत राख्ने गरेको छ ।

यस्तै, कसैले माग गरेको अवस्थामा सामूहिक रुपमा चिउरा कुट्ने काम समेत गर्छन् । मिलेर चिउरा कुट्ने र विक्री वितरण गरि प्राप्त रकम समूहको हितमा खर्चने समूहकी उपाध्यक्ष गंगा श्रेष्ठको भनाई छ ।

एकातिर मौलिक सांस्कृतिक परम्परा पनि जोगिने र अर्कोतिर समूह मार्फत सामाजिक योगदान पनि दिन सकिने गरी टोखाका महिलाहरुले थालेको यो प्रयास साच्चिकै सह्राननीय छ ।

उनीहरु परम्परा जोगाउन मात्र सक्रिय छैनन् आर्थिक क्रियाकलापसँग पनि आफुहरुलाई जोड्न सफल भएका छन् । जुन अरुका लागि पनि प्रेरणा बन्न सक्छ ।