रिपोर्टर्स् क्लबमा सोमबार आयोजित साक्षात्कारमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले विपक्षी नेकपा एमालेलाई चित्त बुझाएरै स्थानीय तहको निर्वाचन गरिने बताए ।
उनले संविधान संशोधन गरी बजेट ल्याउने मिति सारेर भएपनि दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गरिने बताए ।
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले बजेटसँग चुनावी आचारसंहिताको कुनै सरोकार नभएकाले मधेसी मोर्चासँग भएको सहमतिअनुरुप नै निर्वाचन हुने बताए ।
बजेट नियमित प्रक्रिया भएकाले यहि गठबन्धनले दुई चरणमै निर्वाचन गर्ने उनको भनाइ छ ।
एमालेका नेता डा. वंशीधर मिश्रले संविधानमा अनावश्यक संशोधन नगर्न सुझाव दिए ।
एमाले चुनावको वातावरण बनाउन सकारात्मक रहेको भन्दै प्रतिपक्षलाई पेलेर नजान उनले सत्तारुढ दललाई सचेत गराए ।
यस्तै, माले महासचिव सीपी मैनालीले भने मधेसी मोर्चा र विदेशीलाई रिझाउन गरिने संशोधन विधेयकको पक्षमा आफ्नो पार्टीले साथ नदिने बताए ।
जेठ १५ गते बजेट पेस गरेर चुनाव गर्नु संवैधानिक र नैतिकरुपमा पनि गलत हुने तर्क उनले गरे ।





प्रतिक्रिया दिनुहोस्