पार्टी केन्द्रीय कार्यालयमा सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख १२ गते अपराह्न ३ बजे विशेष कार्यक्रममा स्थानीय तह निर्वाचन २०७४ का लागि कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने सो पार्टीले जनाएको छ ।
कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा ‘नमुना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।
संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले सोहीअनुसार स्थानीय संरचना र नेतृत्वलाई सशक्तीकरण गर्ने मुद्दालाई कांग्रेसले प्राथमिकतामा राखेको घोषणापत्र तयारी समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
स्थानीय तहमा जनतालाई समृद्ध बनाउन सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, एक घर एक रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ श्ययाको सुविधासम्पन्न अस्पताल बनाउने विषय पार्टीको घोषणापत्रमा समावेश गरिएको बुझिएको छ ।
निर्वाचनमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्ने, महिला स्वयंसेविकाको सुविधा वृद्धि, सबै वडा, टोल जोड्ने पक्कीसडक, उज्यालो बस्ती, घरघरमा स्वच्छ ऊर्जा, घरघरमा खानेपानी धारा र शौचालय, फोहर व्यवस्थापन केन्द्र, सुरक्षा पोस्ट, बाल, युवा तथा महिला क्लब, बारुण यन्त्र र एम्बुलेन्सको व्यवस्था गर्ने विषय कांग्रेसको प्रतिबद्धता हुनेछ भनिएको छ ।
नेता महेश आचार्य नेतृत्वको समितिले यसअघि विभिन्न चरणमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पेसागत संस्थाका प्रतिनिधिलगायत पार्टी केन्द्रीय समिति र सांसदसँग छलफल गरी सुझाव संकलन गरेको थियो ।
सरकारले यही वैशाख ३१ गते र आगामी जेठ ३१ गतेगरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । रासस





प्रतिक्रिया दिनुहोस्