फाइल फोटो
एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको स्थायी कमिटी बैठकले आयोगको ध्यानाकर्षण गराउँदै मंगलबारै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले यसबारेमा निर्वाचन आयोगमा पुगेर लिखित असहमति दर्ता गर्ने निर्णय गरेको छ ।
बैठक सम्पन्न भएपछि सन्चारकर्मीलाई बैठकको निर्णयबारे जानकारी गराउँदै एमाले सचिव योगेश भट्टराईले भने–‘एक महिनाको अन्तरमा दुई चरणमा निर्वाचन गराउन खोज्ने र त्यसैको चर्चा गरेर बहुसंख्यक प्रदेशमा निर्वाचन गराउने योजना षड्यन्त्रमूलक रहेको एमालेको ठम्याइ छ । बजेटपछि चुनाव गर्ने कुरा एमालेले कुनै हालतमा स्वीकार नगर्ने निर्णय भएको छ ।’
दुई चरणमा चुनाव गर्ने भएपनि बजेट भाषणअघि नै गर्नुपर्ने पक्षमा एमाले रहेको बताउँदै उनले भने–‘सरकारको षड्यन्त्रमा निर्वाचन आयोगको सहमतिप्रति एमालेको आपत्ति छ ।’
जेठ १५ गते चुनावी बजेट पेस गरेर त्यही बजेटको वकालत गर्दै भोट माग्न जाने सत्तापक्षको षड्यन्त्र भएको उनको भनाइ थियो ।
उनकाअनुसार बजेट भाषणअघि दुबै चरणका चुनाव हुनुपर्ने र स्थानीय तहको संख्या तलमाथि गर्न नहुने एमालेका माग हुन् ।
यसैबीच, एमाले स्थायी कमिटी बैठकले सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने निर्णयसमेत गरेको छ ।
उनले भने–‘अहिले ल्याइएको संविधान संशोधनको प्रस्तावलाई सबै शक्ति लगाएर असफल पार्ने निर्णय एमालेले गरेको छ ।’
एमालेको बुधबार (भोलि) पुनः बस्ने बैठकमा उम्मेदवार चयन र घोषणापत्रबारेमा छलफल हुने बताइएको छ । रासस





प्रतिक्रिया दिनुहोस्