Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चितवनमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट


0
Shares

जिल्ला प्रहरी कार्यालय, चितवनले सुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानका क्रममा गत वैशाख ४ गतेदेखि विहीबार (आज)सम्म कच्चा पदार्थसहित २३ हजार ५५० लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले विहीबार (आज) दिएको जानकारीअनुसार घरेलु मदिरा उत्पादन गर्ने भट्टीमै पुगेर नियन्त्रण अभियान चलाइएको छ ।

आजसम्म घरेलु मदिरा बनाउने कच्चा पदार्थ १८ हजार ४६० लिटर र तयारी मदिरा पाँच हजार ९० लिटर नष्ट गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

स्थानीय निकायको निर्वाचन नजिकिएसँगै जिल्लामा प्रहरीले १० वटा युनिट परिचालन गरेर घरेलु मदिरा नियन्त्रण अभियान चलाएको जनाएको छ । सो अभियानका क्रममा मदिरा बनाउन प्रयोग हुने २३३ थान भाँडासमेत बरामद गरेको छ । केही क्षेत्रका मदिरा बनाउने भट्टीसमेत भत्काइएको प्रहरीले जनाएको छ ।

जिप्रका, चितवनले भरतपुरसहित नारायणगढ, चनौली, गीतानगर, भण्डारा, लोथर भोजाड, दिव्यनगर बछ्यौली, मुग्लिन क्षेत्रमा एकैचोटी अभियान चलाइरहेको छ ।

निर्वाचन नजिकिएसँगै घरेलु मदिराको प्रयोग बढ्न सक्ने र यसले अपराधलाई प्रश्रय दिने आशंकामा निगरानी बढाइएको प्रहरीले जनाएको छ । रासस