Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


माहुरीको घार निर्माण गरी वार्षिक १२ लाख आम्दानी


0
Shares

रोजगारीका लागि दैनिक सयौं युवा विदेशीइरहेका बेला बाग्लुङको अमलाचौर–३ का डिलबहादुर खत्रीले माहुरीको घार निर्माण गरी मनग्ये आम्दानी गरेका हुन् ।

खत्रीले घरमै बलेवा मौरी घार उद्योग सञ्चालन गरि वार्षिक १२ लाख ५० हजार आम्दानी गर्ने गरेको जानकारी दिए ।

देशका विभिन्न स्थानमा मौरीपालनतर्फ युवाहरु आकर्षित हुने क्रम तिव्र भइरहेको र आधुनिक घारको माग बढ्दै गएपछि मौरीको घार निर्माण गर्न थालेको खत्रीको भनाइ छ ।

एउटा घारलाई २ हजार ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ । वार्षिक ४ सय आधुनिक घार जिल्ला कृषि कार्यालयलाई समेत बिक्री गर्दै आएका खत्रीले निर्माण गरेका घार खरिदका लागि पर्वत, कास्की र म्याग्दीबटसमेत किसानहरु पुग्ने गरेका छन् ।

सरकारले माहुरीपालनमा अनुदान दिने कार्यक्रम अगाडि ल्याएपछि जिल्ला कृषि विकास कार्यालय बाग्लुङले माहुरीका घार खरिद गरि कृषकलाई सहुलीयत दरमा वितरण गर्दै आएको छ ।

आधुनिक पद्धतिबाट मौरीपालनतर्फ आकर्षित गर्न किसान छनोट गरेर प्रतिव्यक्ति १ लाख ८० हजार रुपैयाँ प्रदान गरिँदै आएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।