बिराज रोस्यारा (इमेज)
कैलाली, फागुन ६ । धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटमा सीवाइसी अत्तरियाले विराटनगर किंग्सलाई १० रनले पराजित गरेको छ ।
जितसँगै अत्तरिया ‘प्लेअफ’मा पुग्न सफल भएको छ ।
विराटनगर भने रनरेटमा पछि पर्दै प्लेअफमा पुग्न असफल हुँदा महेन्द्रनगर युनाइटेडले पनि प्लेअफमा स्थान बनाएको छ । विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो ।
सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा १४९ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर १३८ रनमात्रै बनाउन सक्यो ।
विराटनगरका आरिफ शेखले सर्वाधिक ३९ रन बनाएको इनिङ्समा पृथु बास्कोटाले २७ रन जोडे ।
बलिङतर्फ अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले समान २/२ विकेट लिए ।
ठूलो ‘स्कोर’
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ३ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।
जारी प्रतियोगितामा अत्तरियाले बनाएको यो सबैभन्दा ठूलो ‘स्कोर’ हो ।
प्रतियोगितकै उत्कृष्ट सुरुआत गरेको अत्तरियाले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । तर, त्यसपछि उसले लगातार २ विकेट सस्तैमा गुमायो ।
ओपनर जितेन्द्रसिंह ठकुरी व्यक्तिगत १३ रनमा आउट भए भने सन्दीप जोरा मात्र ३ रनमा पेभेलियन फर्किए ।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा आउट भएपछि अत्तरियाले ७९ रनमा ३ विकेट गुमाएको थियो ।
अर्धशतकीए पारी
तर, चौथो विकेटका लागि जयकिशन कोल्सावाला र सन्नी पटेलले उत्कृष्ट साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । जयकिशनले अर्धशतकीए पारी खेल्दै अविजित ५१ रन बनाए ।
सन्नी पटेलले पनि अर्धशतक बनाए । उनले अविजित ६१ रनको योगदान गरे ।
विराटनगरका सुशन भारी र संसद शेखले १/१ विकेट लिए ।
काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेका छन् ।
६ टोली सहभागी प्रतियोगिताबाट धनगढी स्टार्स पनि बाहिरिइसकेको छ ।








प्रतिक्रिया दिनुहोस्