नौ वर्षको लामो कतार बसाइँबाट उनले राम्रै कमाए। तर, विदेशमा मात्रै बसेर हुँदैन, स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो र स्वदेश फर्किए ।
“लामो समय विदेश बसेँ, राम्रै कमाइ पनि भयो, घरजग्गा जोडेँ, परिवारको पालन पोषणमा पनि राम्रो गरेँ”, उनले भने “तर, पैसाले मात्रै कहाँ मन मान्दोरहेछ, स्वदेशको माया र यहाँको हावापानीले यहीँ कुनै इलम गरौँ सोचेर अहिले कृषि पेसा अँगालेको छु ।”
विसं २०६९ मा रु एक लाख ५० हजारमा खरिद गरेको डी एन्ड डी प्लान्टेक फार्ममा हाल रु एक करोडभन्दा बढी लगानी भइसकेको उप्रेतीले बताए ।
होटल म्यानेजमेन्टमा क्याटरिङ कलेज अफ मुम्बाईबाट बिएचएम गरेका उनले कृषि व्यवसायबाटै आफ्नो पहिचानसहित मनग्य आम्दानी गरिरहेका छन् ।
मागुरमाडीस्थित उनको नर्सरी फार्म कुनै पर्यटकीय गन्तव्य नभइ देख्दा मनै लोभ्याउने आकर्षक कृषि उद्यम देख्न पाइन्छ ।
एक बिगाहा क्षेत्रफलमा कागती, तेजपत्तासहित मलेसियन साल, टिक, पाउलेनियालगायत विभिन्न २० प्रजातिका बोटबिरुवाको नर्सरी छन् ।
दुई लाख दाना कागती र करिब २५ हजार त्यसको बिरुवा बिक्री गरेका उप्रेतीले वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्ने गरेको बताए । उनको फर्ममा कृषि फार्ममा चारजनाले रोजगारीसमेत पाएका छन् ।
उप्रेतीले नर्सरीसँगै गँड्यौला मल उत्पादन, तरकारीखेती पनि गर्दै आएका छन् । कृषिको अत्यन्तै ठूलो सम्भावना रहेको बताउँदै उनले भने “आफूसँग भएकै कुरालाई उपयोग गर्ने हो भने आम्दानीको धेरै स्रोत अपनाउन सकिन्छ ।”
भर्खरै ४० मन जति काँक्रा बिक्री गरेँ, उप्रेतीले भने “खेतीमा प्रविधि मिसाउने हो भने तीनगुणाभन्दा बढी प्रतिफल लिन सकिन्छ ।”
झापासँगै छिमेकी जिल्ला मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङसम्म उप्रेतीले हुर्काएको बिरुवाको निर्यात भइरहेको छ ।
बिरुवा बेचिसकेपछि उनले प्राविधिक सहयोग पनि उपलब्ध गराउने गरेका छन् । “दुई वर्षसम्म त्यसको रेखदेखको जिम्मा आफैँ लिन्छु”, उप्रेतीले भने “त्यो बीचमा बिरुवा मरेमा अर्को बिरुवा उपलब्ध गराउने पनि गरिएको छ ।”
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार अहिले दैनिक एक हजार ५०० युवाले वैदेशिक रोजगारको बाटो रोज्ने गरेका छन् ।
कृषिलाई आधुनिकीकरण गर्न सके आम्दानीको दरिलो स्रोत खडा गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका छन् डिल्लीराज उप्रेती । रासस









प्रतिक्रिया दिनुहोस्