३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सुनसहित अधिकृत नै विमानस्थलबाट पक्राउ


0
Shares

कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौं आइपुगेका यात्री मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा लिएका थिए ।

विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले शंकास्पद गतिविधि देखिएपछि भन्सारका कर्मचारीले खत्रीलाई निगरानीमा राखी यात्री जाँचकक्षमा पुगेपछि नियन्त्रणमा लिएको जानकारी दिए ।

विमानस्थलकै कर्मचारी भएकाले जाँच नहुने र सहजै सुन बाहिर निकाल्ने दाउमा खत्री रहेका थिए ।

सापकोटाले भने–‘विमानस्थलको टावरमा ड्युटी रहेका खत्री विमानबाट यात्री ओर्लिने ठाउँमा जानुले नै उनको गतिविधिमा शंका उत्पन्न भएको थियो ।’

चार वर्षपछि कतारबाट आएका रिमालले १०/१० तोलाको चारओटा बिस्कुट आकारमा सो सुन ल्याएका थिए ।

‘पक्राउ परेका दुबैजनालाई थुनामा राखी अनुसन्धान भइरहेको छ’–उनले भने–‘आज बयान लिन भ्याइएन, आइतबार विस्तृतरुपमा बयान लिन्छौं ।’

खत्रीका साथमा विमानस्थलको सबै ठाउँमा जान मिल्नेगरी जारी गरिएको कार्ड भेटिएको छ । रासस