Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


सुन्दर जेफाले ! टावरबाटै देखिन्छ १६ जिल्ला (भिडियो)


0
Shares

-ध्रुव भट्टराई/ ईमेज

सरकार र स्थानीयको संयुक्त पहलमा जेफालेलाई पर्यटकीय केन्द्रमा विकास गर्न थालिएपछि जेफाले पुर्वी नेपालको नयाँ गन्तव्यका रुपमा विकास हुँदै गएको हो ।

उत्तरी मोरङको बिकट क्षेत्र मानिने जेफाले डाँडामा एक वर्ष अघिमात्र ७२ लाखको लागतमा ४२ फिट अग्लो चार तले भ्यू टावर निर्माणपछि जेफाले क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेको छ ।

१ हजार ९ सय ७० मिटर उचाइमा रहेका भ्यू टावरवाट पूर्वका १६ जिल्ला साथै सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सकिन्छ ।

जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । जेफाले डाँडा नजिकै मनमोहक चिया वगान पनि त्यहाँ घुम्न पुग्ने पर्यटकहरुको अर्को गन्तव्य वन्ने गरेको छ ।

विराट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष डिल्ली शर्मा अधिकारीले सरकार र स्थानीयको सँयुक्त प्रयासमा जेफाले डाँडा लगायतका क्षेत्रहरुको पहिचान गरीे पुर्वधार निर्माणमा काम गरीरहेकोे जानकारी दिए ।

समुद्र सहतवाट १८ सय मिटिर उचाइमा रहेको जेफालेको विकास गर्न जिल्ला विकास समिति धनकुटा, जिल्ला विकास समिति मोरङ, विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति लगायतका सरकारी निकायहरु अहिले लागि परेका छन् ।

जेफाले क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान वस्नको सुविधा प्रदान गर्ने उद्धेश्यले सिंहदेवीस्थित विहिवारेका पाँच घरमा होम्स्टे पनि सञ्चालनमा ल्याइएको छ ।

जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्ज प्रदान गर्ने गरिएको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरी बताउँछन् ।

जेफालेमा घुम्न पुगेका पाहुनाका लागि लोकल कुखुराको मासु, ढिँडो, सिस्नुको तरकारी बिशेष परिकार हुनेछन् ।

नयाँ पर्यटकिय गन्तव्यका रुपमा उदय हुँदै गएको जेफाले डाँडासम्म पुग्नलाई अहिलेपनि सडक मार्गको अभाव छ ।

पर्यटन प्रर्वद्धनका लागि आवश्यक पर्ने सडक संरचना सञ्चार र सुरक्षाको दरिलो व्यवस्था भएको खण्डमा जेफाले पूर्र्वी नेपालकै पर्यटकीय केन्द्रका हवका रुपमा विकास हुनेमा दुई मत छैन ।