कुमार चौलागाइँ (रासस)
काठमाडौं, फागुन ४ । नेपालकी विनिता राईले आइएफबीबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिपमा २०१९ को ‘ओमेन फिजिक’मा स्वर्ण जितेकी छन् ।
शनिबार राजधानीमा सम्पन्न प्रतिस्पर्धामा उनले आफ्नो स्पर्धामा एकमात्र सहभागी बन्दै ‘प्रो कार्ड’ जित्न सफल भएकी हुन् ।
नेपालमा पहिलोपटक आयोजना भएको प्रतियोगितामा स्वर्ण जितेसँगै विनिताले अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउनेछिन् ।
बडीबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन ‘प्रो कार्ड’ आवश्यकता पर्छ ।
प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडीबिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।
यस्तै, मेन्स बडीबिल्डिङको प्रो कार्ड इंग्ल्यान्डका जानी डो रिगोल जितेका छन् ।
‘मेन्स फिजिक’को प्रो कार्ड भारतका सौराम्ती सिंहले जिते । उनले अन्तिम प्रतिस्पर्धामा रहेका तीन खेलाडीलाई पछि पारेका थिए ।
‘मेन्स क्लासिक फिजिकको प्रोकार्ड सिरियाका अमिर हुसेन सैलादिनले हात पारेका छन् ।
प्रो कार्ड जितेका चार बडीबिल्डरले अब आगामी सेम्टेम्बरमा अमेरिकामा हुने मिस्टर ओलम्पियामा भाग लिने अवसर पाउनेछन् ।
प्रतियोगिताका लागि नेपालसहित भारत, कतार, सिरिया, साउदी अरेबिया, युएईलगायत मुलुका खेलाडी नेपाल आएका थिए ।
प्रतियोगिताका ‘गेस्ट पोजर’ विश्व विख्यात बडीबिल्डर रोली विङ्कलर पनि नेपालमै छन् ।
प्रतियोगिताका लागि अमेरिका, डेनमार्क, आयरल्यान्ड र नेदरल्यान्ड्सका गरी चारजना निर्णायकमन्डल नेपाल आएका थिए ।
च्याम्पियनसिपमा ५० देखि ६० खेलाडीले सहभागिता जनाउन नाम दर्ता गराएपनि सहभागीको संख्या कम भएको आयोजक संस्थाका अध्यक्ष एवं पूर्वधर्मश्री विजेता सानु गुरुङले जानकारी दिए ।
नेपाल यसअघि यो संस्थामा आबद्ध थिएन । त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’मा भाग लिने अवसरबाट बन्चित थिए । अब नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको छ ।
विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले ‘प्रो कार्ड’ प्रदान गरेका थिए । रासस








प्रतिक्रिया दिनुहोस्